रातो भित्तो - विश्व बिनोद

0 comments

शहर भन्दा धेरै पर दुर्गम ठाउँमा यौटा गाउँ छ । त्यो गाउँका झुपडीहरूमा पुराना स्मृतिले डेरा जमाएका छन् । पटक पटकको राजनीतिक परिवर्तनको रणभूमि बनेको त्यो गाउँमा लगभग ३– ४ पुस्ता बसोबास गरिरहेका छन् । तिनै झुपडीमध्ये लगभग ४ पुस्ता नाघेकी एक बुढियाको पनि झुपडी छ । उनी परिवर्तनशील छन् । हो ! साच्चै उनको नाम प्रत्येक परिवर्तनहरूमा फेरिँदै गए । पहिले राणा शासनकालमा उन्को नाम रणकुमारी थियो ।
जब प्रजातन्त्र आयो उनको नाम प्रजाकुमारी भयो । त्यसपछि जब पञ्चायत आयो उन्को नाम पञ्चकुमारी बन्यो, फेरि जब पञ्चायतपछि प्रजातन्त्र आयो फेरि उनीे प्रजाकुमारी बनिन् । जब ज्ञानेन्द्रले शासनसत्ता हातमा लिए, उनको नाम राजकुमारी बन्यो । तर जब मुलुकमा गणतन्त्र आयो उनको नाम गणकुमारी रहेको छ ।
यसरी शृंखलाबद्ध तरिकाले नाम परिवर्तन हुनुमा उनको केही दोष छैन । कारण बन्यो आगोमात्र ताप्ने बानी सबैको छ । नाम परिवर्तनमा दोष उन्को हैन, निमुखालाई पेट भर्न हाम्रां शासनहरू रासनको प्रलोभन देखाएर गाउँगाउँमा भाषणमार्फत निष्कलंक, सोझा, सिधा जनताको निर्मल मनलाई आसन जमाउँछन् अनि शुरू हुन्छ नाम परिवर्तनको शृंखला ।
हालकी गणकुमारी अर्थात कुनै बेलाकी रणकमारी, प्रजाकुमारी, पञ्चकुमारी, राजकुमारी जे भन्नुस्, उनी एकैछिन् स्मृतिमा घोत्लिन थाल्छिन् । अनि मनमनै भन्न थाल्छिन्– ‘आखिर व्यवस्थाको नाउँमा नाम परिवर्तन गरेपनि मुखमा माड लाग्ने रै’न छ ।’ हो व्यवस्था परिवर्तन भएर केही नहुने रहेछ, परिवर्तन हुनु पर्दछ त केवल अवस्था । तर व्यवस्थाले वेवास्ता गरेपछि अवस्था झन् झन् दर्दनाक हुन जान्छ । भयानक हुन जान्छ ।
हालकी गणकुमारीका अनुसार उनी यति नाजुक आर्थिक अवस्थाकी थिइनन् रे ! उनी मध्यम वर्गीय परिवारकी थिइन् रे ! उनको घरको भौतिक अवस्था पनि निकै राम्रो थियो रे ! मुलबाटोसँग गाउँको केन्द्रमा उनको घर गाउँलेहरूकैमध्ये अब्बल दर्जाको थियो । घरको दायाँ र बायाँ पट्टिको भित्तो सबैले देख्न मिल्ने थियो । त्यसैले, उनको घरको भित्तोले राजनीतिक हैसियत बोकेको थियो अर्थात् प्रत्येक राजनीतिक घट्नाक्रम र व्यवस्थाहरूसँगको साक्षी उनको घरको भित्तो रहेको थियो । राणाकालमा पनि पर्चा टाँस्न त्यही भित्तो प्रयोगमा आउँथ्यो, पञ्चायत, प्रजातन्त्र र ज्ञानेन्द्र शासन आउँदासम्म उनको भित्तो बहुपयोगी बन्यो रातो रङ्गका पर्चा, पम्प्लेट र पोष्टरिङका लागि । कोही आउँथे राता रङ्गले जिन्दावाद र मुर्दावादका रानाले उन्को घरको भित्तो पोतेर जान्थे । कोही आउँथे प्रतिगमन विरुद्धका नारा पोत्थे । कसैले अग्रगमनका नारा लेख्थे । त्यो भित्तो सबैको साझा थियो । कहिले त्यहाँ रूखको चुनाव चिन्ह लेखिन्थ्यो त कहिले सूर्य र अरू कुनै चुनाव चिन्ह ।
तर बर्षौं भैसकेछ । उनको घरको भित्तो नकोरिएको । गणकुमारीलाई केही वर्ष अगाडिको त्यो घट्ना राम्रैसँग याद छ । रातो झण्डा बोकेर आएका एक हुलले उन्को घरको भित्तोमा खै त्यस्तै त्यस्तै के के हो नारा लेखेका थिए । यस्ता नारा नलेख भनेर उन्ले सम्झाएकी पनि हुन् । किनकी, नारा उन्को घरमा लेखिएकै कारण पञ्चायतमा उनी जेल जानु परेको थियो । पछि प्रजातन्त्र आउँदा पनि उन्को घरको भित्तो रङ्ग्याएर धेरै जना नेता र सांसद भैसकेका थिए । राजाको पालामा पनि यस्तै भएपछि उन्लाई अब के हुने हो भनेर डर लागिरहन्थ्यो । साच्चै नसोचेको जस्तै भयो । त्यो भित्तो रातो पोतिएको केही समयमा नै सेनाले उन्को घरको भित्तो बमले उडाइदिएको थियो ।
व्यवस्थाले उनलाई वेवास्ता गरेर घरबाट सडकमा पु¥याएको छ  । फेरि उन्ले साहस गरेर घर मर्मत संभार गर्र्दैछिन् । उन्लाई घरबारे सोध्दा यसो भनिन्– ‘भित्तो रङेग्याउनेहरू धेरै आए, जनता दङ्ग्याउनेहरू धेरै आए, तर सोझो जनतालाई झुक्याउने गरेर जतिसुकै नयाँ व्यवस्था आएपनि देश बनेन, परिवर्तन आएन भने भित्तो रङ्ग्याएर कुनै काम नै छैन ।’ आज पनि चुनावको मिति सुनेर फिस्स हाँस्छिन् गणकुमारी । उन्लाई मनमनै लाग्छ– ‘अब चाहिँ मेरो घरको भित्तोलाई रातो रङ्गले पोत्न दिएर राजनीतिक भित्तो  बनाउन चाहन्न, जबसम्म नेपाली जनताले एकमुठी खुशीको स्वास फेर्न पाउन्नन् ।’
पाठकवृन्द तपाई पनि प्रत्येक व्यवस्थामा भित्तो रङ्ग्याउँदै त हिड्नु भा’को छैन ? मलाई त लाग्छ तपाईले रङ्ग्याएका भित्ताले तपाईलाई खबरदारी गरेका छन् । तर्साएका छैनन् । तपाईका गुलिया नारा जनताले विर्से होलान्, तर यी निर्जीव भित्तामा पोतिएका नाराले इतिहास बोकेका छन् । तपाईको झुटको खेतीको । अब चुनाव आउँदैछ, नि ! पुराना भित्ताले तपाईसँग प्रश्न सोध्देछन्– ‘ए   हजुर ! पुराना नारा पुरा भयो र नयाँ लेख्न आउनु भा’छ ?’ के तपाईसँग यी निर्जिव भित्तालाई दिने सजिलो जवाफ छ ?

जदौ !
लेखक - विश्व बिनोद 
गाउँशहर—३, लमजुङ
bishwabinod@facebook.com
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger