गहना प्रदर्शनी - विश्व बिनोद

0 comments

तीज आउनासाथ मलाई यौटा चुट्किलाले कुत्कुत्याउँछ । एउटा गाउँको एकजना गरिब मान्छेले निकै दुःख गरेर सुनको औंठी बनाएछ र माझी औंलामा लगाएछ । त्यसको केही दिनमै उस्लाई खसी किन्न जानुपर्ने भएछ । ऊ जहाँ जान्थ्यो, उस्ले औंठी लगाएको औंलाले ऊ त्यो के हो ? ऊ त्यहाँ कसरी जाने ? भन्दै अनेकन प्रश्न सोध्थ्यो । उसले प्रश्न जानी जानी सोध्थ्यो किनकि, उस्ले आफूले हातमा लगाएको औंठी देखाउनलाई सोधेको हुन्थ्यो ।
उ खसी किन्ने सिलसिलामा एक जना धनी व्यक्तिकोमा पुगेछ । त्यहाँ पुगेपछि उस्ले औंठी लगाएको माझी औंला उठाएर खसी देखाउँदै खोधे छ– हैन दाजु उ त्यो खसीको मोल कति हो ? त्यो धनी मान्छेले खसी किन्न आउने मान्छेले अनावश्यक औंलोले खसी देखाएर सुनको विज्ञापन गर्न लागेको मजाले बुझेछ, अनि उस्ले पनि आफ्नो सुनको दाँत देखाउन राँगोले मुख फाल्दा झैँ भने छ– पाँच हजार पाँच सय पच्चिस । लौ हेर्नुस् त गहना प्रदर्शनी भन्या यै हो । त्यसैले सवभन्दा बढी गहना प्रदर्शनी हुने चाड तीजको यहाँ भाका हालेर बखान गर्न नसके पनि डाँको छाडेर उखान गर्न लागिएको छ ।
जमाना फेरियो साहिँली भनेर तीजको गीत गाएको धेरै भा’को छैन तर गहनाले तीजमा परिवर्तन ल्याएछ । पुछार घरे भाउजु आज गहना लगाएर बजार तिर ढल्किदै रहिछिन् । ‘हैन हो, भाउजु तपाइँ कतातिर ?’ मैले सोधेँ । पुछार घरे भाउजु बडो रसिक पारामा गीत गाउँदै रहिछिन्, उन्ले भनिन्– ‘हाई मेरो फरिया, झन् तल सारुयो झन् माथि सर्छ, हाइ मेरो फरिया, हजुर बाबु म यस्सो त्यो रिसोर्ट तिर दर खान जान लागेकी ।’ हरे प्रभो म अचम्भित भएँ । ‘रिसोर्टमा दर खाने चलन संस्कृति हो कि विक्रिति हँ ?’ अनि उन्को गीतमा भन्या झैँ फरिया नि कस्तो हँ तल झार्दा माथि सर्ने ? मैले उन्को शरिरमा एक टक नजर लगाएँ । उन्को शरिर हेर्दा तीन छक्क पर्नु सिवाय अरु केही गर्न नसकिने रहेछ ।
मेरी बास्सै ! उनी घाँटी बागो बागो गरेर हिड्दै थिइन् । मलाई लाग्यो उन्लाई घाँटीमा केही समस्या छ । अनि, मैले सोधे– ‘हैन ! भाउजु तपाइँको घाँटीमा के भो ? बाँगो बाँगो परेर हिँड्नु भा छ नि !’ ती भाउजुले हाँस्दै भनिन्– ‘हैन बाबु ! यस्तो केही हैन यो छड्के तिलहरीले झाँटेको छ, गहुंगो भएर घाँटी बाँगो भएको होला नि ... ...!’ धन्य प्रभो ! तिम्रो लिला अपरमपार छ, रहँदा बस्दा अनेक देख्न सकिन्छ । त्यसरी घाँटी नै बाँगिने गरी किन लाउने है ? आखिर गहना केका लागि ? लाज छोप्नका लागि कि प्रदर्शनीका लागि ? मैले उन्को नाडीमा हेरे, हत्केला देखि कुहिनोसम्म चुरा रहेछन्, तीज आयो भन्दैमा दुई दर्जन चुरा एकै हातमा लगाउने चलन कुन शास्त्रमा लेखेको छ ? सायद व्यर्थ शास्त्र लेखिन बाँकी होला ।
मैले उन्को कपाल हेरेँ । हिजोसम्म भारी बोक्दा गुमु्रक्क परेर खुम्चेको कपाल उन्ले त स्टेट गरिछन् सर्लक्कै । कपालमा हेरे चन्द्रमा भन्ने गहना रहेछ, शिरफूला रहेछ, शिरविन्दू लगाएकी रहिछन् । घाँटीमा थरी थरीका पोते रहेछन् । बेला बेलामा घाँटको सिक्री देखाउने उद्देश्यले हातले तान्दै उमाउँदै बोल्थिन् । मैले यस्ती उनको पैतालामा हेरेँ, उन्ले पट्पटी फुटेको पैतालालाई रंग दलेर दंगै पर्ने बनाएकी रहिछन्, अनि सुनकै पाउजु लगाएकी रहिछन्, भाउजुले । हैन हे गाँठे यी महिला गहना लाउनमा पहिला भए मिल्ने भए यी महिलाले थैला बोकेर, घैला बोकेर गहनाले झरिझुत्तै बनेर दैला दैला हिँड्थे कैलो कपाल लिएर । धन्य छ यो तीज भन्ने चाडवाड पनि घरभित्र थन्किएका गहनालाई प्रदर्शनी हुने मौका दिएको छ । एकै घरका दिदी बहिनी बीच तँछाड् मछाड् हुने गरी गहना प्रदर्शनी गर्ने चलन ह्वात्तै बढेको छ ।
त्यही दिनको साँझपख पुछारघे भाउजु हस्याँडफस्याड गर्दै घर फर्कदै रहिछन् मैले सोध– ‘हैन भाउजु ! के को स्याँ स्याँ फ्याँ फ्याँ हो ?! कठै बरा, भाउजुले रुँदै भनिन्– ‘हेर्नुस् त्यहाँ रिसोर्टमा दर पार्टी खान गा’को, रिसोर्टमा दर खाने भनेर दश जनाको गहना मागेर लागएर गा’को लुटेराले लट्यो लौन म के गरुँ ?’
खुच्चिउँ ! संस्कृतिको नाममा विक्रिति भित्र्याउनेलाई यस्तो भाको ठीक छ । ती गहना आखिर किन लगाइन्छन् ? म आफै प्रश्न गर्छु अनुत्तरित हुन्छु । गहना किन लाइन्छ ? यौटै उत्तर आउँछ– प्रदर्शनका लागि । अर्को उत्तर तपाइँसँग भए प्रतिक्रिया दिँदै गर्नुस् ।

जदौं !
-विश्व बिनोद
गाउँशहर—३, लमजुङ
bishwabinod@facebook.com
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger