मिस पाडी प्रतियोगिता - विश्व बिनोद

0 comments


बुझ्नेलाई श्रृखण्ड नबुझेनलाई खुर्पाको बिंड भन्या झैँ आजकल सौन्दर्य प्रतियोगिताको चलन ह्वात्तै बढेर गा’को छ । हुन पनि अचम्मै छ, यो अखण्ड नेपालमा खण्डित सोचाइले धेरै जसो प्रतियोगिताहरू हुने गर्छन् । जब मान्छे फूर्सदमा हुन्छ । उस्ले अनौठा सोचाईको लिस्नो लगाउँछ अनि सुरू गर्छ नयाँ नौला कामहरू ।

हो यहाँ धेरै सौन्दर्य प्रतियोगिता भएका छन्, मिस नेपालदेखि धेरै धेरै ब्युटि कन्टेस्ट । कहिले मिस मंगोल, कहिले मिस आर्यन, कहिले मिस कलेज त कतै मिस टिन । दिनदिनै यस्ता सौन्दर्य प्रतियोगिताले बजार तताइरहेका छन् । यो कस्तो चलन हिंड्न नजानेका, सिंगान सम्हाल्न नसक्नेलाई, कपडा सम्हाल्न, नसक्नेलाई यस्ता सौन्दर्य प्रतियोगितामा सहभागी गराइन्छ । अझ मान्छेले मान्छे झैँ हिँड्न नमिल्ने रे,  बिरालो चालमा क्याट वाक गर्नुपर्ने यो कस्तो सभ्यता हो ? के यस्ता सौन्दर्य प्रतियोगिताले मान्छेलाई मान्छेको व्यवहार गर्न दिँदैनन् कि के हो ?

यहाँ कुकुरलाई ब्युटि कन्टेस्टमा लगिन्छ, बिरालोलाई ब्युटि कन्टेस्टमा लगिन्छ । मान्छेको सोच फरक भएको छ । विहान उठेर मान्छेले मर्निङवाक गर्न जाँदैन, जान्छ त फगत् घरको कुकुरलाई मर्निङ वाक गराउन । सौन्दर्य प्रतियोगिता पनि कति भएका हुन् गाँठे ! कुनै जनावर बाँकी छैनन्, त्यस्ता प्रतियोगितामा लैजान । कुरा यहाँ मिस पाडी प्रतियोगिताको हो । गाईका बाच्छीलाई प्रतियोगितामा लगुँ भने आजकल मानिसले गाई पाल्न छाडिसके बहरलाई प्रतियोगितामा लग्ने हो रहर, यो शहरमा सम्भव छैन ।

अब मिस पाडी प्रतियोगिता गर्नु पर्नेछ । सहभागिताको लागि तपाईले आफ्नै घरमा भैँसीका पाडीलाई सहभागी गराउनु पर्नेछ । पुच्छर लामो भा’को, जिउ चटक्क परेको, सर्लक्क परेको लायकको, हेर्दा खेरी नायक झैँ देखिने पाडीलाई तपाईले गाडीमा हालेर, साडी लगाएर प्रतियोतिमा ल्याउनु पर्नेछ । हेर्नुुस्, मान्छेभन्दा पाडी धेरै सुन्दर हुन्छन् । तिनलाई कुनै मेकअपको जरूरत पर्दैन । त्यसैले पाडीलाई गाजल, लिपस्टिक र लिपलाइनरको कुनै जरूरत पर्र्नेछैन । प्राकृतिक कुरामा विश्वास गरे पुग्छ, भँैसीका पाडीलाई क्याटवाक गराउनु पर्दैन । पाडीलाई सक्नु हुन्छ भने साडीमा बफेलो वाक गराए पुग्छ ।

आजसम्म बचेको यही मिस पाडी प्रतियोगिता मात्र हो । अरू प्रतियोगिता हुन केही बाँकी छन् । साँच्चै भन्ने हो भने यो प्रतियोगिता सम्पन्न भए विजेताले पक्कै आफ्नो नाम गिनिज बुमा लेखाउन पाउने छ । संसारलाई देखाउन पाइने छ ।

मान्छे यहाँ शौखिन भएका छन् । आफू नाङ्गो हिँड्छन् तर घरमा झ्यालमा कपडाका पर्दा टाँग्छन् । यहाँ श्रीमान्ले श्रीमतीलाई मेहन्दी लगाएको यो पंक्तिकारले देखेकै छ । समाजमा अलिक नयाँ काम गर्नु छ भने मिस पाडी प्रतियोगितामा सहयोगी भए राम्रो हुन सक्छ । यस्ले तपाइँको शौखिनताको उपमा दिने छ ।
मिस पाडी प्रतियोगिताका धेरै फाइदा छन् । नेपाल कृषि प्रधान देश हो, त्यसैले यस्ले मानिसमा भैँसी पाल्ने कुरालाई बढावा दिन्छ । कृषिमा उत्पादन बढाउँछ, कुल गार्हस्थ उत्पादन बढ्ने छ । खेतमा मल मान्छेलाई बल पुग्ने छ, घिउ, पाइने छ, जिउ लाग्ने छ, स्वस्थ्य भइने छ, व्यस्त भइने छ । सबै मान्छे व्यसत भए नेताजस्ता राष्ट्रिय गफाडी उत्पादन गर्ने थलो नेपाल बन्ने छैन ।

उत्पादन बढेमा भारतीय बुढी भैंसीको ममः खानै पर्ने छैन । नेपाली छाला स्वदेश मै उत्पादन भए पाकिस्तानी दुध धेरै उत्पादन भए न पानीमा दुध हाल्नु पर्ने छ न दुधमा पानी हाल्नु पर्ने छ । यस्ले मानिस स्वस्थ हुनेछन् । यही मानिस स्वस्थ भए हस्पिटल नै चाहिने नै छैन । आहा ! देश त सुन्दर र शान्त बन्ने छ । त्यसैले मिस पाडी प्रतियोगिता गर्नु नै पर्छ । यस्का लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्न त प्रति आयोजकको ध्यान जाओस् । पाठक वृन्द ! नेपालमा भएका अनेकौं सौन्दर्य प्रतियोगितामा यो प्रतियोगिता सञ्चालन भएमा कसो होला ? प्रतिक्रिया दिँदै गर्नुहोला ।

जदौ !
लेखक - विश्व बिनोद
गाउँशहर—३, लमजुङ
bishwabinod@facebook.com
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger