आधा शताब्दी पछिको देश - विश्व बिनोद

0 comments

साँच्चै तपाइँले आधा शताब्दी पछिको देशको, मान्छेको भेषको कल्पना गर्नु भएको छ ? कल्पना गर्नुमा तपाइँलाई आनन्द या पीडाको अनुभव हुन्छ ? हुन सक्छ तपाइँले कुनै युग पुरूषको कल्पना गरेको तर हाम्रा काइँलाउले भने आधा शताब्दी पछिको देशको कल्पना छुट्टै गरेछन् ।

काइँलाउका अनुसार देश फरक धारमा हुनेछ, देश मारमा पर्नेछ । उन्ले दिव्यचक्षु लगाएर देशको भविष्य हेरेछन् । साँच्चै देशमा अनौठो हुँदोरहेछ । अहिले चलेको जातीयताको लडाइँले अर्को देशले नेपाललाई रजाइँ गरिरहको हुनेछ । आज प्राविधिक शिक्षामा, प्राविधिक लाइनमा पनि कोटा प्रणाली रहेकोले अस्पताल र अन्य निकायमा जातीय व्यक्तिहरूको पहुँच बन्ने छ, अनि कथित ब्राह्मण क्षेत्रीहरू आफ्नो आफ्नो अस्तित्वका लागि लडिरहेका हुनेछन्, आरक्षण र संरक्षणको नाराले संसार सारा तताउनेछ । हो ब्राह्मण क्षेत्रीहरू उत्पिडनमा परेर आरक्षणको कोटाको माग गर्नेछन् ।

कोही अस्पताल गएमा उस्ले डाक्टरसँग सोध्नेछ तपाई आरक्षण कोटामा पढेर डाक्टर बन्नु भएको कि ? खुल्ला प्रतिस्पर्धाबाट डाक्टर बन्नु भएको ? भनेर । आरक्षण कोटामा पढेर इन्जिनियर बनेकासँग घरको नक्सा बनाउने छैन । आरक्षण कोटामा पढेर डाक्टर भएकासँग रोग जचाउने छैन ।

हो काइँलाउले यो छुद्र सोचे या उग्र, उन्ले यस्तै सोचेका छन् । उन्का अनुसार देश कि त प्रान्त बन्ने छ । कि त परीक्षणको थलो बनेर विदेशीको भलो गर्नेछ । त्यतिबेला नेपालीहरू स्वाधिनताको लागि लडाइँ गर्नेछन् । यहाँ धेरै नेता जन्मिए तर राजनेता जन्मिएनन्, देशले युग पुरुषको खोजी गर्नेछ, राजनेताको खोजी गर्नेछ ।

देश अचम्मको हुनेछ, अतिक्रमणको चपेटामा परेर, दक्षिणवादी लपेटामा परेर देशले सार्वभौमसत्ताको पखेटा हाल्नै सक्ने छैन । देशमा भारतीय मुद्रा चलन चल्तिको मुद्रा बन्ने छ(हुनत, अहिले पनि चलेकै छ) । सम्पूर्ण नेपाली भाषी, गुरुङ, मगर, तामाङ भाषी भारतीय नेपाली भाषा लोप हुनबाट जोगाउन छुट्टै खोपको आवश्यकता पर्नेछ । देशका ठाउँ ठाउँमा नेपाली भाषा लेखपढ र बोलचालका लागि ट्युसन सेन्टरहरू खोलिने छन् । देशमा चेतना आएछ भने मुस्किलले पुनर्जागरण काल आउनेछ तर आउनेछ त केबल अनिकाल मात्र, संकटकाल मात्र ।

देश सोमालियाको बाटोमा हिड्ने छ, इजिप्टको उदाहरण दोहोर्याउने छ । हाम्रो उर्वरता परनिर्भरतामा बल्झने छ, दोवाटोमै अल्झने छ । हो, नेपाली मुद्रालाई भारतीय मुद्राले विस्थापन गर्नेछ । देशमा बनेका संग्रहालयमा नेपाली मुद्रा आधा शताब्दी अघि यस्तो थियो भनेर चिनारीको लागि राखिने छ । त्यस्ता संग्रहालयमा विहारी कपडा लगाएका पचास वर्ष अघिका भूतपूर्व नेपालीहरू पुराना नेपाली दौरा, सुर्वाल, चोली, गुन्यू, फरिया हेर्न आउने छन् ।

अहँ त्यति गर्दा पनि नेपालीमा चेत आउने छैन, बाँझा जमिन झन् बाँझा बन्नेछन् । हाम्रो अरूलाई बानी हट्ने छैन । अनि, सबैले इतिहासका पानामा पढ्ने छन्, इतिहासमा यौटा देश थियो, जातीय द्वन्द्वले सखाप भएछ, त्यो इतिहासको देशलाई अलिकति नेताले विगारे छन्, अलिकति जातीयताले विगारेछ ।

यो त हाम्रा काइँलाउको सोचाइमात्र । देशको बारेमा दिनको एक पटक त सोच्नु भा’छ ? २४ घण्टामा दुई मिनेट मात्र सोचौं त आधा शताब्दी पछि देश कस्तो होला ? वर्तमानको सन्दर्भमा ?

जदौ !
लेखक - विश्व बिनोद
गाउँशहर—३, लमजुङ
bishwabinod@facebook.com
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger