कृषि क्रान्ति - विश्व बिनोद

0 comments


क्रान्तिका भ्रान्तिहरू धेरै देखेका छौं हामीले । यहाँ हलो क्रान्ति भयो तर भलो क्रान्ति भएन । देशमा सुन फलाउने सुर कसेकाहरू बेसुरका भएपछि यहाँ सुन त के सम्पूर्ण जनतालाई हातमुख जोर्ने समस्याको राग अलाप्नु पर्ने र कृषिका उपज किन्नलाई दक्षिण फर्केर फलाक्नु पर्ने भएको छ ।

कृषिमा क्रान्ति या भ्रान्ति भा’को हो, यो तपाइँकै विश्लेषणमा भर पर्छ । बिहान बिहानै ब्रोइलर कुखराको एक दर्जन जमातलाई हाम्रो कुखुरा व्यापारीले मोटरसाइकलमा उँधो मुन्टो पारेर क्वाँक, क्वाँक पार्दै हिंड्नु कृषि क्रान्ति हैन र ? मान्छेले मोटरसाइकल चढ्न नपाएको बेला कुखुरा बोक्न मोटरसाइकलको प्रयोग हुनु कृषि क्रान्ति हो ।

एकजना किसानले आफ्नी श्रीमतीलाई मोटरसाइकलमा  पछाडि राखेर कतै जादै रहेछन् । मैले उनलाई सोधेँ– ‘कता लाग्नु भो ?’ उन्ले भने– ‘खेतमा आली लाउन र धान रोप्न जान लागेको ।’ यस्सो एक नजर उन्को श्रीमतीको हातमा लगाएको के थिएँ, म त खुत्रुक्कै परेँ । दश थरी गहना लगाएर नयाँ दुलही झैँ सजिएर हातमा श्रीमान्को लागि कोदाली लिएर बाली लगाउन जाँदै रहिछिन् उनी । हो, यो पनि कृषि क्रान्ति हो । किनकि, हाम्रा किसानको जीवनस्तर उकासिएरै होला गहनाले झरिझुत्तै भएर खेतमा काम गर्न जानु ।

एक दिन कृषि कार्यालयबाट कृषक अध्ययन भ्रमणको व्यवस्था भएछ । तराईका फाँटमा पुगेपछि किसानलाई बन्दा खेती देखाइएछ, त्यतिबेला भ्रमणमा गएका एक जनाले भनेछन्– ‘यो बन्दाको गुदी पकाएर खानु पर्छ हो ?’ साँच्चै यो चर्चित टुक्काले पनि नेपाली कृषि क्रान्तिको मुहारमा मुक्का हानेको छ । यहाँ परिश्रमी किसानको सुख्खा लागेको छ ।

खै केही आर्थिक क्रान्ति भन्छन् कोही औद्योगिक भन्छन् । क्रान्तिकै नाममा नयाँ शब्दको खेल बनाइन्छ ।  नयाँ शब्द बन्दछन् तर जनता भने उस्ता को उस्तै । क्रान्तिकै नाममा यहाँ कोही कसैले प्रगतिशील भन्छन्, गतिशील भन्छन् त कसैलाई यथास्थितिवादीको विल्ला भिराइदिन्छन् । तर नेपालमा कृषि क्रान्ति भा’को हो या हैन हामी सबैलाई थाहै छ । हाम्रा गाउँमा भारतीय बिहारीहरू टोकरीमा तरकारी बोकेर गाउँ नजिकैको पोखरीमा बसेर तरकारी बेच्ने नोकरी गर्नु के नेपालको कृषि क्रान्ति हो ?

कालिमाटी तरकारी बजारमा ठूला ठूला डिलरहरू व्यापारीहरू भारतीय हुनु के यो कृषि क्रान्ति  हो ? अझ त्योभन्दा पनि हास्यास्पद कुरा हाम्रा उर्वर भूमिमा, उर्वर फाँटमा धान फुल्नुको सट्टा खेतमा घर फलेका छन् तर अचम्म ! ती घरको छतमा फर्सी फलेका छन् । के यो कृषि क्रान्ति हो र ? हामीले तरकारी किनेर खाएकै छौं, हाम्रो बारी भए पनि बजारबाट भारतीय तरकारी किनेर खान हामी तल्लिन छौं ।  के यो कृषि क्रान्ति हो ? एकाध ठाउँमा व्यवसायिक खेतीपाति हुँदैमा कृषिमा क्रान्ति हुन्छ र ?

हेर्नुस् त हाम्रा गाउँमा भारतीयहरू ठेला धकेलेर तरकारी बेच्न आएका छन् । हाम्रा बारी बाँझै छन् । गाउँमा मान्छे छैनन् । हाम्रा युवाले खाडीमा सुख्खा जमिनमा अचेल झाडी बनाएका छन् तर गाउँका बारीमा झाडी बडेको छ । यो पनि कृषि क्रान्तिकै उपज होला हैन र ? हाम्रो जुम्ला, मनाङका स्याउभन्दा हामी कस्मिरी स्याउका पारखी बन्नु पनि कृषि क्रान्तिकै उपज होला र ? हामीलाई च्याउ खेती गर्न कि ह्याउ आउँदैन कि त झ्याउ लाग्छ । त्यसैले त हामी च्याउ किनेर खान्छौं । कृषि प्रधान देशको उपमा बोकेर नारा लाउँछौं तर तरकारी किन्ने पारा फकर नै छ ।  हामीले कोदो लगाउन छोड्यौं । खेती गर्न छोड्यौं यसो हेर्दा त हामीले धेरै नै क्रान्ति गरेका छौं जस्तो लाग्छ ।

हामी भारतीय चामल किन्छौं, सामल भारतीय किन्छौं,  लसुन चाइनाको किन्छौं, अनि हामी कृषि प्रधान देशकै धावा दिन्छौं । हामी डाबर कम्पनीको मह खान्छौं । यहाँ हामीले नयाँ विउ बनाउन सकेका छैनौं । घिउ बनाउन सकेका छैनौं । अनि कसबाट जिउ लाग्छ ? खेतमा खेतीको उत्पादन भन्दा खेतालाको लगानी महंगो पर्नु पनि कृषि क्रान्ति नै हो त ? हामी हाम्रा सुन्तला बेच्छौं र बजारबाट किनेर ल्याउँछौं ।  सुन्तला बेच्नेले हातमा कोक लिएर सुन्तला किन्नुस् भनेर भट्याउँछन् । हामी दूध बेचेर तत्कालै रक्सी पिउछौं । त्यसैले कृषि क्रान्ति भएको हो जस्तो लाग्छ । पाठकवृन्द ! कतै तपाईलाई पनि यस्तै भा’को त   छैन ? लौ भन्नुहोस् त यहाँ कृषिमा क्रान्ति छ या भ्रान्ति ?
जदौ !
लेखक -विश्व बिनोद
गाउँशहर—३, लमजुङ
bishwabinod@facebook.com
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger