अब बिदेश जाँदै जान्न (व्यंग्य) | बिश्व बिनोद

0 comments

के छक्क परेर अक्क न पक्क हुनु भा’को हँ? म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुप¥यो र ? कुन देश बाँकि छ र घुम्नलाई ? पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा घुम्न गएपछि मलाई बिदेश प्रतिको मृगतृष्णा ह्वात्तै घटेर गा’को छ । आखिर घुम्नु पर्ने देश नै कुन बाँकि छ र?
बरु देशै नघुमि संघियताको नारा हाम्रो पार्टिमा सबैभन्दा बढि लगाउनेमा मै पो रहेछु । अब देशै घुम्नु पर्ला । के छैन यहाँ सोझा जनता छन्, सोझा गाउँले छन्, एक छाक भात कुकुरलाई त दिन्छन् भने हामि नेतालाई त भत्तुवा लाएकै भरमा दिन्लान् नि गाँठे । हुन त बन्दुक नदेखाई भात नदिने जनता पनि यहि देशमा हाम्रै पार्टिहरुले बनाएका हुन् । म भूमिगत हुँदाका रुकुम, रोल्पाका डाँडा काँडाका घर घरमा ति घरले के भनेका होलान् , हाम्रा महान् युद्द पछि ति घरले पनि नियास्रो मानेका होलान्, निन्याउरो भएका होलान् । तिन्का नियास्रो मेट्नु छ । अझ भात मागेर खाने बानि बिर्सन्छ कि भनेर नबिकरण गर्नको लागि गाँउ गाउँ जानै पर्ने भो कहाँ बिदेश गएर बिदेश भ्रमण गरेर समय बर्बाद गर्नु ?
हामि अलिक भत्तुवा भएछौं, मै पनि भत्तुवा छु, तपाई पनि त्यस्तै त होला नि हैन? सोझै काम गरेर कमाएको भन्दा बसि बसि खान पाएकोमा हामिलाई गर्व छ, मागेर खानुमा ३६५ दिने बाह्रमासे पर्व छ । देशलाई माग्ने बनाए पछि जनता पनि माग्ने अबस्थामा पु¥याएका छौं अनि म जान्न चाहन्छु कि हाम्रो महान् क्रान्ति पछि गाउँ नगा’को यत्रा बर्ष पछि अझ जनता कति गरिब भए हेर्ने धोको छ । बिदेश गएर आखिर हुने नै के रहेछ र ? दुई चार बोत्तल वाइन लडाएर डिनर पार्टिमा रम्नु भन्दा बिदेश भ्रमणको उपलब्धि के रह्यो र? म तनावमा छु कि न सिंगापुर हामिले घुमेर देश त्यस्तो न स्विट्जरल्याण्ड घुमेर देश त्यस्तो भो । यति धेरै नेताले गरेको बिदेश भ्रमणको खर्च बटुल बुटुल पार्न पा’को भए देशको लागि एक बर्षको लागि बजेट बन्थ्यो होला ।
गरिबसँग प्रधानमन्त्रि भन्ने कार्यक्रमले जनतासँग जान निक्कै मजा त हुन्थ्यो तर म यसो सोच्छु कुनै युरोपेली देशको राष्ट्रप्रमुखले म सँग डिनर खाँदा गरिब देश सँग खाएको सोच्छन् होला है । हो त्यसैले मलाई बिदेश भ्रमण प्रति बितृष्णा भो । बिदेश जानु पर्दैन अब मलाई किनकी हामिले गाउँका युवालाई बिस्थापित गरेर बिदेशमा स्थापित गराएका छौं । उनिहरुले देशको अर्थतन्त्र धानेको बेला गाउँमा कति युवा बिदेशिएछन् भनेर गाउँ जानु मेरो लक्ष्य रहेको छ ।
टन्न बैंकमा ब्यालेन्स छँदै छ, दो चार घडेरी शहरमा कमाएकै छु , एक दर्जन घर बिभिन्न शहरमा ठड्याएकै छु । अनि किन जानु प¥यो र बिदेश? हो म बिदेश जाँदै जान्न । जनयुद्दमा जनताका छोराछोरीलाईले पढ्न नपाए पनि मेरा छोरा छोरीले बिदेश गएर पढेकै छन् अनि किन जानु पर्यो बिदेश ? घरैमा बसेर अन्तराष्ट्रिय स्तरको सुबिधा पाएकै छु अनि किन जानु बिदेश? सोझा जनता छन्, सोेझ पार्टि कार्यकर्ता छन्, सुधो गाईको जस्तो लुरुक्क भनेको मान्ने उनिहरु हुँदा हुँदै बिदेश जानु महापाप हो । हो म अब बिदेश जाँदै जान्न ।
बिना काम राज्यले सुबिधा दिने यस्तो महान् स्वर्ग समान् देश छाडेर बिदेश भ्रमण किन जानु, अहँ मेरो लागि यो देश त जननी जन्म भूमिश्चः स्वर्गादपि गरियसी भनेझैं भा’को हो । यहाँ भनेको पु¥याउनु पर्दैन, पु¥याउनै सकिने कुरा गर्नै पर्दैन , यस्तो रामराज्य देश नघुमेर बिदेश किन घुम्नु हँ ? बिदेशी हाम्रो देशमा घुम्न आउँदा हामि बिदेश किन घुम्न जानु र ? उनिहरु हामिलाई ढुंगे युगका मानिस भनेर हेर्न आउने रहेछन्, यी ढुंगे युगिन् सभ्यतालाई पन्छाएर पर जान नसकिँदा म बिदेश घुम्दै घुम्दिन । बिदेशले कुन कुन देशमा कहाँ कहाँ सैनिक अखडा छन् भनेर एक एक गनिरहँदा म कहाँ कहाँ मानिसले चर्पि बनाए भनेर मग्न भएको बेला यसैमा बिदेशले अनुदान दिएका छन् उस्लाई भूँडिसुधारको लागि परिचालन गर्न पाए पछि किन बिदेश जाने हँ ? म अब बिदेश जाँदै जान्न । जदौ

-बिश्व बिनोद
बेसिशहर नगरपालिका ७, लमजुङ
(सहायक प्राध्यापक ,म.ब.क्याम्पस)
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger