छोरो भर्ना गर्ने बोर्डिङ - हास्यब्यङ्य | बिश्व बिनोद

0 comments

अनिकालको जमानामा सन्ततीले पनि फन्फन्ती बनाउने, बाउ भएर के गर्नु वास्तवमै राहु परिएछ , साहुको हात नसमाति भाउ नपाइने अनि जिन्दगीको भाउ पनि नपाईने अनि जिन्दगीको नाउ पनि नचल्ने । लोड सेडिङको कमालमा परिबार नियोजनको साधनमा गडबढि आएर बुढेसकालमा बजिया मोरोले धर्ति देखिहाल्यो अनि छोराको बाउ भईयो । स्वास्नीले त नपाम् बुढा भनि थि नि ? के गर्नु ती बाल अधिकार बादीले भुँडिको बच्चाको पनि जन्मन पाउने अधिकार छ नत्र मुद्दा हालौंला भने अनि बुढिको भुँडि रात चौगुना दिन नौगुना बड्न थाल्यो । घराँ एक दर्जन भएर पनि कति पाएका हौ भनेर परिवार नियोजन बादिले सोध्दा मैले बिद्युत अफिसलाई गएर सोध न यता माल सामान झिक्न नपाई ट्याक्क बिजुली फाल्दिए पछि सन्तान जन्मिदैनन् त? बच्चा पेटमै कच्चा हुँदा नै फाल्न लाएकै हो नि ति बाल अधिकार बादिले फाल्न पाउन्नौ भने पछि नपाएर के गरौ त प्रभो?
बिद्युत गा को बेला जन्मेकाले मैले छोराको नाम बिद्युत प्रसाद राखिदिए तर घरमा उसलाई बिजुलीकान्ते भनेर नाम राखियो । बिद्युत प्रसाद नाम राख्नु पर्ने कुरा तपाईंले बुझेकै होला, आखिर उ बिद्युतको प्रसाद न थियो । बिजुलिको कमालले नै होला उ बिजुलीकान्ते नै थियो । सरकारी स्कुलमा पढाउँछु भनेको त छोरो मोरोले मान्दै मानेन बा । बोर्डिङको होर्डिङबोर्ड देखेपछि उस्मा निजिमा जान्छु भनेर हुटहुटि गरे पछि गरिबीलाई आहुति दिन करै लाग्यो ।
बिजुलीकान्तेलाई लिएर म यौटा बोर्डिङस्कुलमा प्रबिष्ट भएँ, थाहा छैन त्यहाँ छिर्दा उत्कृष्ट या निकृष्ट भएँ । बोर्डिङको गेटमा जुँगेमुठे हल्दारले गज्जबको स्यालुट दिदा मलाई त आफु राजा महाराजा भएको पो भान भयो । बोर्डिङले जानेकै होनि एक दिनको सम्मान दिएर बर्षौं बर्षको लागि स्थायी ग्राहक बुकिङ्ग गर्न सक्नु पनि ब्यापारिक कुटनीतिकता नै त होला नि ! वाह बोर्डिङका प्रिन्सिपल पनि गज्जबका रहेछन् जानासाथ कोक सँगै के के थोक खुवाए म त लठ्ठै भएँ बा !
बोर्डिङका बिभिन्न नियम हुँदा रहेछन् । मैले सोधें “अनि यहाँ बिद्यार्थीले के के सुबिधा पाउँछन् नि ?” उन्ले मेरो प्रश्न भुँईमा खस्न नपाउँदै उत्तर फर्काए “यहाँ डान्स क्लासको सुबिधा छ, स्विमिङ पुलको सुबिधा छ ,भलिबल, फुटबल, बास्केटबल,क्रिकेट टिचरको सुबिधा छ, बिद्यार्थीलाई गाडिबाटै ल्याउने लाने सुबिधा छ .........” म त अचम्ममा परे यत्रा बिधि सुबिधाको बारेमा यिन्ले फलाक्दा पढाउने सुबिधाको बारेमा कुरै गर्दैनन् त? “अनि पढाउने सुबिधा मुख्य कुरा हैन र यत्रा बिधि नाना भाँतिका कुरा गर्दा खै पढाउने कुरा गर्दा खै पढाईको कुरा गर्नु भा’छ नि त तपाईंले? ” प्रिन्सिपल भनाउँदा लाजले रातै भए । आजकाल बोर्डिङले आफ्नो बिज्ञापन गर्दा पढाईको कुरा कहाँ छ कहाँ छ दशथरी खेलकुदका, सौन्दर्य प्रतियोगिताका कुरा अलापेर र फलाकेर कुरा गर्न थाल्छन् । अनि मैले बिजुलीकान्तेलाई भर्ना गर्नको लागि के के गर्नु पर्छ भनेर सोध्दा त त्यहाँ भर्ना गराउन सरकारी कार्यालयबाट गरेको सम्पतिको मुल्याङ्कन गरेको प्रमाण, बच्चाको निरोगिताको डक्टरी रिपोर्ट, बच्चाको अभिभावकको बार्षिक आय ब्यय, धरौटि रकम आदि ईत्यादि, तथा बच्चाको बाबु आमाको बिदेशी बस्ने भए पि.आर.को प्रतिलिपि पनि सम्लग्न गर्नु पर्ने रहेछ । यत्रा बिधि मापदण्डले मलाई त दण्ड दिई रहेथ्यो । अनि मैले मन अमिल्याउँदै सोधें, “हैन किन चाहियो यत्रा बिधि कुरा?” प्रिन्सिपल भनाउँदोले भने, “हेर्नुस यहाँ सरकारी उच्च पदस्थ कर्मचारीका बाबुनानी पढ्न आउँछन् । अझ शिक्षा बिभाग, शिक्षा मन्त्रालय, शिक्षा कार्यालय, क्षेत्रिय शिक्षा निर्देशनालय तथा बिद्यालयका हेडसर, स्रोेत ब्यक्ति, बिद्यालयका बिद्यालय निरीक्षक लगायत उच्च पदस्थ कर्मचारीका बाबुनानी भर्नाहुने ठाउँ हो यो । त्यसैले मैले भनेका डकुमेन्ट हुनै पर्छ, ए अनि तपाईंले बाबुको भर्ना गर्ने हो भने बाबुको दिशा पिसाब,रगत,खकार सबै जाँच गरेको रिपोर्ट हामिलाई बुझाउनुस है......।” हामि सरकारी स्कुलमा पढ्दा हाम्रा बाउ आमाले यसो गरे होलान् त ? म त अवाक् भएँ, अन्यमा मैले पनि त्यो बोर्डिङको आबश्यक कागजात छ छैन भनेर सोध्न जरुरत ठानेर मैले उन्को बोर्डिङको अनुमति पत्र हेर्न जिज्ञासा राखें। उन्ले देखाउनै मानेनन् अन्त्यमा उन्ले भने “सुन्नुुुस् न यौटा जेन्टलम्यान डिलिङ गरौं न, म तपाईंको बच्चालाई सित्तिमा भर्ना र पढ्ने बन्दोबस्त गरिदिन्छु, यहाँको अनुमतिपत्र चाहिं नमाग्नुस् ल !” पछि गाँठि कुरा पत्ता लाग्यो त्यो बोर्डिङले उपल्लो कक्षाको अनुमति नपाईनै उपल्लो कक्षामा पढाई रहेको रहेछ । त्यो बोर्डिङ शिक्षा कार्यालयको दश मिनेटको हिंडाईमा पुग्न सकिन्छ के यस्ता बिद्यालय तपाईंकै वरिपरी त छैनन्, आबश्यक कागजात छैनन् कहिल्यै सोध्ने जमर्को गर्नु भा’छ? तपाई आफ्ना बाबु नानी भर्ना गर्ने सोचमा त हुनुहुन्न? सोचौ है ! जदौ !

-बिश्व बिनोद
बेसिशहर नगरपालिका ७, लमजुङ
(सहायक प्राध्यापक ,म.ब.क्याम्पस)
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger