रावण : ओझेल पारिएको पाटो | सुवास मल्ल

0 comments


Click Here to Download This Article in PDF


यहाँ जित्नेहरु कै इतिहास लेखिन्छ
र हार्नेहरुको योगदान मेटिन्छ
प्रायः संसार भर सत्य र असत्यको फैसला जीत र हारमा अडेको विडम्बनापूर्ण इतिहास हाम्रो सामु देख्न पाइन्छ । जित्नेहरुको कार्यको प्रसंसा गर्दा गर्दै मान्छेहरु हार्नेहरुको योगदानको चर्चा गर्ने समय पाउँदैनन् वा जानी जानी बिर्सिदिन्छन्÷बिर्सेको अभिनय गरिदिन्छन् । धेरै अवस्थामा त जित्नेहरुले नै हार्नेहरुको इतिहासलाई नामेट पारिदिन्छन् र आफूँलाई देवत्वकरण गर्न कै लागि हार्नेहरुलाई दानविकरण गरिदिन्छन् । पूर्विय मिथकमा रावण एउटा त्यस्तै पात्र हो, जो हारेको हुनाले उनको योगदानलाई जित्नेहरुले मेटिदिएका छन् ।
हामीले पढेको÷सुनेको रामायणमा रावणलाई यसरी वर्णन गरिएको छ मानौं उनी बुद्धि र विकेक विहिन क्रुर शासक थिए । तर पछिल्ला खोज तथा अनुसन्धानहरुलाई आधार मान्ने हो भने रावण बल, बुद्धि र शौर्यशाली राजा थिए भन्ने कुरा मान्न खास गाह्रो छैन । यसको मतलव रावण असल थिए बरु राम पो बदमास थिए भन्ने मेरो तर्क होइन । मैले त यहाँ केवल रावणको पनि ओझेल पारिएको पाटो थियो भनेर त्यसको पर्दा उतार्न मात्र खोजेको हो ।
रावणको परिवार
रामायणमा रावणलाई लंकाको राजाको रुपमा चित्रण गरिएको छ । राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैेकसी र महान ऋषि विश्वश्रवाको कोखबाट जन्मेकाले रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । उनका कुम्भकर्ण नामक अजंगको ज्यान भएको भाइ, राजकाजमा निपूर्ण अभिरावण नामक भाइ, शुर्पणखा नाम गरेकी कुरुप बहिनी र विभीषण नाम गरेका अर्का भाइ थिए । यस बाहेक रावणका खारा र धुशाना नाम गरेका भाइहरु र खुम्बिणी नामकी बहिनी पनि थिइन् । उनको विवाह मन्दोदरीसँग भएको थियो, जसको गर्भबाट मेघनाथको जन्म भयो । इन्द्रलाई समेत परास्त गरेका हुनाले यी पराक्रमी युवराजलाई इन्द्रजीत पनि भनिन्थ्यो ।
दश टाउकाको अर्थ
रावणलाई उनको योगदानको बलस्वरुप दशमुखा अर्थात दशवटा टाउको भएको भनेर पनि चिन्ने गरिन्छ । तर वास्तवमै उनको दशवटा टाउको नभएको र दशवटा पण्डीत बराबरको बौद्धिकता भएकाले उनलाई दशमुखा भनिएको भनेर सम्बोधन गरिएको मान्ने पण्डीतहरु पनि छन् । ४ वटै वेद र ६ वटै उपनिषदको ज्ञाता भएकाले उनलाई दश टाउको बराबरको मानेर दशानन (दश+आनन(मुख)) रुप दिइएको तर्क तिनीहरुको छ । अरु केही व्याख्याताहरु भने उनको असली टाउको बौद्धिकताको प्रतिक भएको र बाँकी ९ टाउकोले उनी सम्पूर्ण नवरस (श्रृंगार, वीर, करुण, हाँस्य, रौद्र, भयानक, विभत्स, अद्भुत र शान्त) ले युक्त पूर्ण मान्छे भएको जनाउने पनि बताउने गरेका छन् । माया अवतार जानेका कारण दश वटा टाउको देखाउन सक्षम भएको भन्नेहरुको पनि कुनै कमि भने छैन ।
बौद्धिकताा
माथिका प्रसंगहरुबाट रावण बौद्धिक मान्छे हो भन्नेमा त कुनै शंका नै भएन । बरु उनको बौद्धिकतालाई वर्णन गर्ने थप प्रमाणहरुका रुपमा उनको अध्ययन तथा अनुसन्धानलाई लिन सकिन्छ । रावणलाई आयुर्वेद, ज्योतिर्विद्या र कुटनीतिको विज्ञको रुपमा रामायणमा स्विकार गरिएको छ । हिन्दु ज्योतिषविद्या को महत्वपूर्ण पुस्तक ‘अरुण संहिता’ र ‘रावण संहिता’का रचनाकार रावण नै थिए । यी दुवै पुस्तकलाई आज पनि ज्योतिष विज्ञानमा महत्वका साथ लिने गरिन्छ । उनले शिव भक्तिको पुस्तक ‘शिव ताण्डव स्तोत्र’ पनि रचना गरेका थिए । साथै विणा बजाउने कलामा पनि उनी ज्यादै पारंगत थिए भनेर उल्लेख गरिएको पाइन्छ ।
शिवभक्ति
रावण हिन्दु धर्मका आरध्य देव शिवका भक्तको रुपमा रामायणले चित्रण गरेको छ । तिब्बत स्थित हिमालय क्षेत्रको मानसरोवर (राक्षसताल ?) मा उनले कडा तपस्या गरेर शिवलाई प्रशन्न बनाएर ‘चन्द्रहाँस’ नामक खड्ग पनि उपहार पाएका थिए । रावण नाम पनि उनलाई शिवबाट नै मिलेको थियो, जसको अर्थ हुन्छ ‘भयंकर गर्जन !’ शिवलाई खुसी पार्नका लागि ‘शिव ताण्डव स्तोत्र’ आफैंले रचना गरेबाट पनि उनको विद्वता र शिवभक्ति प्रष्ट हुन्छ । भारतको आन्द्र प्रदेशमा रावणले स्थापना गरेको शिवलिंगको पुजा आज पनि हुने गरेको छ ।
अमरत्व
शिवबाट बरदान पाउनु अघि नै उनले यस्तै तपस्या गरेर ब्रम्हाबाट गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता कसैबाट पनि बध नहुने अमरत्वको बरदान पनि पाएका थिए । तर यो पूर्ण अमरत्व थिएन, बरु आफ्नो प्राण नाइटोमा केन्द्रीत गरेर राखेका थिए भनेर वर्णन गर्ने पनि गरिएको छ । नाभीमा जम्मा गरेर राखिएको यही अमृतलाई रामले वाण हानेर ध्वंश गराए पछि रावणको मृत्यु भएको रामायणमा उल्लेख छ ।
रावण राज्य
लंका राज्यको निर्माण विश्वकर्माले ऋषि विश्वश्रवाका पुत्र कुवेर (रावणको सौतेनी दाजु) को लागि गरिदिएका थिए । विश्वकर्माले यो राज्यलाई निकै सुन्दर बनाएर कुवेरलाई दिए पनि जनता त्यती सन्तुष्ट थिएनन् । समृद्धिबिनाको सुन्दरताको अर्थ खास रहने कुरा पनि भएन । तपस्याहरुबाट फर्के पछि कुवेर र रावण बीच मनमुटावको अवस्था सिर्जना भयो र विश्वश्रवाले कुवेरलाई राज्य सञ्चालनबाट पछि हटेर लंकाको राजकाज रावणलाई सुम्पन आदेश दिए । यसरी लंकाको राजा भएका रावणले राज्यलाई समृद्ध बनाउन अनेक पहल गरेका थिए । लंकामा सबैभन्दा गरिबहरुको घरमा पनि खान पिउन स्वणपात्र (सुनबाट बनेको भाँडा) को प्रयोग हुन्थ्यो भनेर रामायणमा नै उल्लेख छ । अनेक अन्य राज्यहरुमाथि विजय प्राप्त गर्दै रावणले लंकालाई ठूलो साम्राज्य बनाएका थिए । त्यसपछि लंका राज्यको राजकाज उनले भाइ अभिरावणलाई सुम्पेर आफु सम्पूर्ण साम्राज्यको बादशाह बनेर रहेका थिए ।
सीता अपहरण
मैले यहाँ कुनै नारीलाई अपहरण गरिनुलाई ठिक ठह¥याउन खोजेको होइन केवल तत्कालिन घटनाक्रमको कम चर्चा गरिएको पाटो मात्र खोतल्ने प्रयास गरेको हुँ । बनबासको जीवन बिताइरहेका राम, उनकी पत्नी सीता र भाइ लक्ष्मणसँगको सम्बन्धका कारण नै रावण सबैभन्दा आलोचित भएका थिए । रावणकी बहिनी शुर्पणखा बनबासी जीवन बिताइरहेका रामका भाइ लक्ष्मणबाट निकै प्रभावित भएर एकतर्फि प्रेम गर्न लागिन् । लक्ष्मणले कुरुप सुपर्णखालाई कुनै वास्ता नगरे पछि उनी आँफैले लक्ष्मणको अगाडी गएर प्रेम प्रस्ताव राखिन् । सन्की प्रकृतिका लक्ष्मणले सुपर्णखाको यो दुष्साहसलाई घोर गाली बेइज्जती गरेर नाक कान काटेर पठाइदिए । आफ्नो बहिनीको यो हविगत हेरेर रावण जस्तो शक्तिशाली बादशाह हेरेर बस्ने कुरै थिएन । यसकै बदला लिनका लागि रावणले सितालाई बन्धक बनाएर आफ्नो बहिनीसँग माफि माग्न वा युद्धमा आउन रामलाई चुनौती दिए । सीतालाई अपहरण गरेर लगे पनि रावणले उनी माथि कुनै दुव्र्यवहार गरेनन् बरु बन्धक सीतालाई राम्रा हेरचाह र खानपानको व्यवस्था गरे । बन्धक अबधीभर सीतालाई कुर्ने जिम्मा महिलालाई मात्र दिइएबाट पनि रावणको नियत माथि प्रश्न गर्ने ठाउँ थोरै मात्र बाँकी रहन्छ । सायद रावणबाट भन्दा बरु मुक्ति पछि अग्नीपरिक्षा गर्ने र पछि गर्भवति अवस्थामा जंगलमा छाड्ने रामले पो सीतालाई बढि दर्द दिएका थिए की ?
रावण पुजा
रावणलाई देवता कै स्वरुपमा पुजा गर्ने समुदाय पनि छ । रामायणमा उल्लेख गरिएजस्तै निच चरित्र र व्यवहारको शासक भएका भए यस्तो भक्ति सायदै सम्भव थियो । भारतको आन्द्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्तान, जोधपुर, गुजरात, कानपुर, कर्नाटक लगायत श्रीलंका, थाइल्याण्ड आदी देशहरुमा रावणका मन्दिरहरु स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा यहाँ रावणको बदिलानको स्मृति गर्दै पुजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरहरुमा रावणसँगै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजीतको पनि पुजा गर्ने गरिएको पाइन्छ । दक्षिण श्रीलंकामा त आफ्नो ठाउँलाई रावणकालिन राजधानी मानेर रावणको पुजाआज र सम्झना गर्ने रावणपुर नामक ठाउँ नै छ । जहाँ रामलाई राक्षसको रुपमा र विभिषणलाई दुष्ट मान्छेको रुपमा परिभाषित गर्ने गरिन्छ ।
रामायणको असलियत यस्तो थियो कि ?
राम र रावण दुवै जना आ–आफ्नो क्षेत्रका महाशक्तिहरु थिए । यो रामायणमा वर्णन गरिए जस्तो सत् र असत्को लडाईं थिएन बरु दुई शक्तिशाली अहंकारहरुको टकराव थियो । तर रामसँगको युद्धमा पराजीत भएका कारण उनका पक्षधरहरुले रामलाई बढि नै देवत्वकरण र रावणको बढि नै दानविकरण गरेका हुन् । दुवै प्रकरणमा अनेक अलौकिक कथाहरु जोडेर रामलाई भगवान र रावणलाई दानवका रुपमा परिभाषित गरियो । सायद रावणले युद्ध जितेका भए उनी नै भगवान र राम दानव हुन्थे कि ?
रावण तत्कालिन अवस्थामा एक शक्तिशाली साम्राज्यका प्रतापी बादशाहका रुपमा स्थापित भइसकेका थिए । उनको राज्य आजको श्रीलंकाका भु–भाग मात्र नभई भारत, मलेसिया, इण्डोनेसिया र बर्मासम्मका क्षेत्रहरु ओगटेको जानकारहरुले लेखेका छन् । भन्नु नपर्ला एउटा साम्राज्य खडा गर्ने दौरान रावणले दुष्मनहरुको पनि राम्रै पल्टन कमाइसकेका थिए । तर जब उनको उमेर ढल्न थाल्यो, उनको साम्राज्यको अनेक दरारहरु आउन थाले र त्यही बेला सीता अपहरण काण्ड हुन गयो । रावणका दुष्मनहरु उनलाई पराजित गर्ने उचित मौकाको खोजीमा थिए र पराक्रमी धनुर्धर राम र लक्ष्मणलाई भरपुर सहयोग गरे । यो कुरा कसरी पनि पुष्टी हुन्छ भने रावणको मृत्यु पछि उनीहरुले रावणको उत्तराधिकारी, उनको भाइ तथा रामको सहयोगी विभिषणलाई सिंगो लंका साम्राज्यको बादशाह नबनाई लंका राज्यको मात्र राजाका रुपमा राज्याभीषेक गराए र एक पछि अर्काे गर्दै आफ्ना राज्यहरु बापस लिए ।
रावणलाई राक्षस गणको भान्जाका रुपमा पछि परिभाषित गरिएको हुन सक्छ । हार्नेहरुलाई ‘गोरु बेचेको’ साइनो लगाएर राक्षस बनाउने र जित्नेहरुलाई त्यही प्रणालीबाट देवता बनाउने हिन्दु सामन्ती परम्पराको निरन्तरतामा उनलाई पछि राक्षस वंशको रुपमा वर्णन गरिएको हुन सक्छ । सन्देह गर्ने ठाउँ कसरी पनि देखिन्छ भने रावणका बारेमा हिन्दु धर्म ग्रन्थ सबैले खराब चरित्रको मात्र ब्याख्या गरेका छन् तर राक्षसको रुपमा उनलाई पुष्टि गर्ने तर्क भने फरक फरक पाइन्छन् । रामायण र विष्णु पुराणले रावणको मावली वंश नै राक्षस गणको भएकोले उनका दुुष्टता जन्मजात भएको लेखेको छ तर उही कोखबाट जन्मेको विभिषण चाँही कसरी उनीहरुको परिभाषामा देवता जस्तो भए भन्ने बारे वाल्मीकि मौन छन् । उता पद्म पुराण र श्रीमद्भागवत पुराणमा भने रावण र कुम्भकर्ण हिरण्याक्ष र हिरण्यकशिपु नामका असुरहरुको नयाँ अवतारका रुपमा जन्मेको उल्लेख छ, जसरी रामले भगवन विष्णुको अवतारका रुपमा जन्म लिएका थिए ।
रामायणमा उल्लिखित केही प्रसंगहरुले पनि रावण वर्णन गरिए जस्तो दम्भी र दुष्ट थिएनन् भन्ने पुष्टि गर्दछन् । रामेश्वरम्मा रामले शिवलिंग स्थापना गरी शिवको भक्ति गर्ने कार्य शुरु गर्न लागेका थिए । जसमा उनलाई शिवभक्त विद्वान पण्डितको आवश्यकता परेको थियो । रावणले यो थाहा पाएर रामको त्यो कार्य सफल बनाइदिएका थिए । त्यो भन्दा पनि विशिष्ट उदाहरण अर्काे पनि छ । रावण र रामबीच युद्धको चरमोत्कर्ष छुँदै थियो र घाइते लक्ष्मणको मरणासन्न अवस्थामा उपचार भइरहेको थियो । यस्तो बेलामा पनि रावणले आफ्नै दुष्मनको उपचारका लागि आफ्ना नामुद आयुर्वेदाचार्य सुषेणलाई रामकोमा पठाएर मानवियता प्रदर्शन गरेका थिए ।
रावणलाई सबैभन्दा बढि घाटा आफ्नै भाइ विभिषण र अर्का राजा बलिका भाइ सुग्रिवबाट भएको हो । यी दुईको गठबन्धनले रामलाई रावणका कमजोरीहरुको सुराकी मात्र दिएनन् बरु रावणका दुष्मनहरुसँगको रामको सम्बन्ध स्थापित गर्न पनि सहयोग गरे । दाजुको सत्ता हत्याउन गरिएको यस्तो कार्यलाई षड्यन्त्र मान्ने कि सत्यका लागि संघर्ष ?
रावणको बारेमा खोज अनुसन्धान
हाल विश्वका विभिन्न कुनामा रावणको असलियतको खोजी तथा अनुसन्धान कार्य पनि शुरु भएको पाइन्छ । श्रीलंका सरकारले त सरकारी तहबाटै यसको शुरुवात गरेको पाइन्छ । रामायण लगायतका हिन्दु ग्रन्थमा गरिएको एकपाखे विश्लेषणलाई यिनै अनुसन्धानहरुले चुनौती दिएका छन् । रावणको जीवनगाथा र लंकापुरीको बारेमा आनन्द नीलकांतनले (Ashura, Tale of Vanquished, The Story of Ravana and his People (असुर : पराजितहरुको कथा, रावण र उनका जनताहरुको कथा) नामक एक महाकाव्य नै तयार गरेका छन् । त्यसै गरी आचार्य चतुरसेनलेवयम् रक्षामः’ र पण्डीत मदन मोहन शर्मा शाहीले पनि तिन भागमा ‘लंकेश्वर’ नामक उपन्यास लेखेको पाइन्छ । भारतमा एक जना दलित अधिकारकर्मी रामास्वामी नायकरले रामायणको विरोधमा तथा रावणको समर्थनमा ‘रावणायण’ नै तयार पारेका छन् । रावण बारेका अनुसन्धानहरु भारत र श्रीलंकाका विभिन्न पत्र पत्रिकाहरु तथा वेभसाइटहरुमा पढ्न पाइन्छ ।
Email - subash.malla@gmail.com
Article published on 'Darshan' Smarika, Volume-4, 2071.
Source : http://aworld2win.blogspot.com/2014/05/blog-post_4.html

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger