अब त म नगरबासी ! | बिश्वबिनोद

0 comments

गर को उल्टो नगर हो । गाउँको उल्टो नगर पनि हो । खै गर्दै नगर्ने भा’को भ’र नगर भन्या हुन् कि, साँच्चै बजार बसेर हजार कमाउन सकिने भएर नगर भन्या हुन् थाहा छैन । गाउँ मिलाएर शहर हुने भए कति गाउँ शहर बन्थे होलान् तर सरकारलाई त्यस्को के सरोकार न दरकार, कापिमा केरकार गरेर नगरपालिका घोषणा गरिदिएछ ।
हो म अब नगरबासी भएको छु । अब त साँच्चै भन्ने हो भने एक पल्ट पनि शहरको मुख नदेखेकाहरु पनि नगरबासीको सुबिधा पाएका छन् भन्दा अचम्म मान्नु पर्ने कुनै कारण नै छैन । म पुराना गाबिस अध्यक्षको राजनीतिक हैसियत देखेर बिचलित भा’को छु । अब आउने स्थानिय चुनावमाा गाबिस अध्यक्ष पड्काउँला भन्नेले वडा अध्यक्षको हैसियतमा पुग्ने अबस्था आएछ । अझ त्यसो त गाबिसमा बसेर बृद्दभत्ता खाएका गाबिस सचिव अब बडा अध्यक्षको हैसियतमा पुगेपछि यहि सहरको चोकमा बसेर बोत्तलको के के थोक खाएको मैले देखेकै छु । 
मैले अघि नै भनि सकें म नगर बासि हुँ, सहर सँधै बासि हुन्छ, यो कहिले ताजा हुँदैन, हिजोको मदिरको ह्याङ् बोकेर हिड्छ प्रत्येक सहर अनि यो कसरी ताजा बनोस् ? यौटा ग्राहकलाई दोब्य्राउन नपाएको झोकमा अर्को ग्राहकलाई दोब्य्राउने बासि रहर पालेर बस्ने पनि नगर नै । थुक्क सहर , यो सहर हो जहाँ अनौठा घटना दिनहुँ घट्ने गर्छन् । यो सहर हो जहाँ यौटा कोठामा एक जना भोकै पर्दा त्यहि घरको अर्को कोठामा उन्माद र उमंगले सयौं जना पार्टि खाएर डकारी रहेका हुन्छन् ।यो सहर हो जहाँ यौटा कोठामा मान्छे मरेर मलामि नपाउँदा सँगैको अर्को कोठामा बिबाहोत्सव चलेको हुन्छ, अनि म सोच्छु यत्रा बिधि समस्या सिर्जना गर्ने ठाउँ सभ्यताको सहर कसरी भयो ? तर जे होस् मेरो गाउँ नगरपालिका भित्र परेको छ ।
नगरपालिका भए पछि नगर बासी भएपछि सबै चिज ताजा पाउनु पर्ने हो तर यहाँ तरकारी ताजा पाइन्छ पाईन्न तपाईंलाई नै थाहा छ नि । पाउरोटि ताजा हिजोको आज भनेर हिड्नेहरु पनि यहाँ प्रसस्त देख्न सकिन्छ । हिजोको भाषण नबिकरण गरेर यौटा ठाँउ बाट अर्को ठाँउमा उराल्दै हिड्नेहरुलाई भाषण ताजा हो या नयाँ सहजै अनुमान गर्न सकिन्छ । अनि यो सहरबासीहरु ताजा भए कि बासी तपाईंनै भन्नुस् न ।
नगरपालिका बने देखि म बिहान बेलुका तालुमा हात लगाएर बसेको छु । जुन दिन यो गाउँ  नगरपालिका भयो त्यहि दिन देखि यहाँ बिजुलीले लुकामारी खेल्न थालिसकेको छ । सम्भवत तपाईले यो लेख पढ्दै गर्दा टुकिको उज्यालोमा पढ्दै गरेको पनि हुन सक्नुहुने छ । जहाँ सहरी बिकासको कुनै योजना नै छैन, अब्यबस्थित बस्ति बिकासको चपेटा लपेटेर पछि घर भत्काउन सक्ने गरि दिईएका उधारा आश्वासनहरुमा यहाँका जनता बासि भाषण गर्ने नेताका पछि लागेर हरिलट्टक भएको कस्लाई के चासो ? तर पनि नगरपालिका घोषणा भएको उपलक्ष्यमा नाकलाई मुङ्ग्रे केरा जत्रो बनाएर हाम्रा सहरबासी मख्ख परेकै छन् ।
जब यो शहर नगरपालिका भयो तब यो शहरमा घरका धाराले आन्दोलन गरे, बाल्टि, गाग्री बोकेर छिमेकि गाउँ धाउनु यहाँको दैनन्दिनी बनेपछि  यो सहर नगरपालिका हुनुको औचित्य पुष्टिँदै गा’को छ । घटिदे गाँड भन्दा पनि थपिदे गाँड भन्या झैं, कर तिर्न नसक्नेहरु अब करको करलाग्दिमा पर्दा कस्ले के उद्दार गर्ला र ? यत्रा बिघ्न कर ला’को देख्दा अब म घरको भैंसिको मूल्य बढ्ने देखेर मख्ख थिए तर बेच्दा वा किन्दा कर तिर्नु पर्ने त हैन, म सोचमग्न छु ।
गाउँका खरबारी अब घरबारी बन्ने रे, अब भूमि सुधार होला नहोला क्रान्तिकारी भुँडिसुधार चाहिँ अबस्य हुने भो , ढल निकासका समस्या समाधान होलान् नहोलान् दल बिकास चाहि अबस्यै हुन्छन् । गाउँमा मस्र्याङ्दिीको बालुवा चालेर ज्यान पाल्ने एक जना कामदारले मलाई सोधे के मैले पनि बालुवा चालेर परिवार पालेको कर तिर्नु पर्छ । मैले उन्लाई भनि दिएँ दाई यो सहर हो यहाँ जे पनि सम्भव छ, आखिर नगरपालिकाको केन्द्र तोक्न नसक्नेहरु र पहिलाको सदरमुकाम मात्र बिकास हुनुु पर्छ, पहिला आफ्नो घर सहरमा भएकै कारण आसपासका मिलेका गाबिसमा नगरपालिकाको केन्द्र तोक्न नसक्ने बिकास बिरोधि हुतिहारा भएको यो सहरमा चार पार्टिको सिण्डिकेट चल्यो भने जनताको गाउँ सम्म बिकास लग्ने चाहना कसरी पुरा हुन सक्छ, तिनै बालुवा बोक्ने दाईको कथन थियो । मैले उन्लाई भने यि चार पार्टिका ठुल्टाउके नेताको घर सदरमुकाममा भएकोले  सदरमुकाम बाहेकका गाउँमा यिन्ले नगरपालिकाको केन्द्र लान नदिएका हुन् । अनि भरिया दाई राँक्किदै भने के तिन्लाई अब आसपासको गाउँमा बिकास गर्नु पर्दैन, आसपासको गाउँको भोट चाहिन्न ? कति सँधै बत्ति मुनिको अँध्यारोमा बस्ने ? खै यो प्रश्नको उत्तर मेरो ठाउँबाट दिन सक्ने हैसियत म राख्दिन तर म नगरपालिका बासि भएकोमा छक्क परि रहेको छु , लौन बताईदिनुस् तपाईंको नगरपालिकाको केन्द्र कहाँ हो र के यौटै ठाउँले मात्र बिकास हुनु पर्दैन, शक्ति पृथकिकरण र बिकेन्द्रीकरणको नारा लगाउनेलाई पनि थाहा होला किन नगरपालिकाको केन्द्रलाई केन्द्रिकरण गरिंदैछ ? जदौ ।
(सन्दर्भ ः थप नगरपालिका घोषणा भएको उपलक्ष्य)

-बिश्वबिनोद 
बेशिसहर नगरपालिका -७, लमजुङ
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger