अनामीकाको प्रेमपत्र के आर ढकाल लाई.....

0 comments

सन २०१४ को प्रेम दिवसको अवसरमा पोखरा विश्वविद्यालय साहित्य सामाजले आयोजना गरेको खुल्ला प्रेमपत्र लेखन प्रतियोगितामा प्रथम हुन सफल के. आर ढकाल जि को प्रेमपत्रको जवाफ आएको छ, अनामीकाको तर्फवाट ।

के आर जी को प्रेम पत्र सुन्नका लागी यहाँ Click गर्नुहोला ।

अनामिकाको पत्र के.आर.ढकालको लागि यसप्रकार रहेको छ.......

मिति : २०७१ बैशाख १३

प्रिय के.आर.
आरामता चाहन्छु ।

आराम छु त कसरी भनौँ, औपचारिकता पुरा गर्नको लागि मात्र आराम छु भन्न मनले मानेन । कुनै दिन थियो, जुन दिन हामी दुबै आराम र हर्षित थियौँ, तर दुर्भाग्य ति दिनहरु सधैँ एकैनास रहन सकेनन् । समयसँगै नजिकिएका हामी समयसँगै टाढा हुन पुग्यौँ विना सूचना, विना सम्बोधन ।

आधुनिक प्रविधीलाई धन्यवाद, जसको कारण तिमीले मेरो समर्पणमा लेखेको पत्र पढ्न पाएँ । दुःख लाग्यो, मेरो पत्र मैले भन्दा पहिले धेरैले पढिसकेछन्, सुनिसकेछन् । अरुको पुरा नै सहि, म प्रति समर्पित शव्दहरु मैले हेर्न पाएँ, मैले उच्चारण गर्न पाएँ, र यादहरुलाई पुनः ताजा बनाउन पाएँ । तिमीले हाम्रो भेटको सम्झना गरेका रहेछौ, अनि त्यो सत्यनारायण पुजाको दिनको । तर के.आर. तिमी भ्रममा रहेछौ, हाम्रो भेट त्यो भन्दा धेरै पहिले नै भइसकेको छ ।

हामी एक अर्काप्रति समर्पित भएको लामो समय भइसक्यो सायद सम्झाइदिएँ भने सम्झनेछौ । तिमीलाई याद छ ? तिमीले औपचारिक शिक्षाको सुरुवात गरेका दिनहरु, अनि त्यो स्कुल र ति बालसखाहरु ? हो, तिमी त्यो बेला मामाघरमा बसेर पढ्थ्यौ, आज त्यै मामा घरमा पुजा गर्न आइपुगेका छौ । म तिनै बाल सखाहरुमध्येकी तिम्री प्रियसखा । हुन त, तिमीले नचिन्नुमा मेरो पनि दोस छ, किन कि म सधैँ उत्रै हुन सकिन, जवानीका पुष्पगुच्छाहरु हर्लक्क भएर आए, शरीरको आकार र अनुहारको आकृतिमा परिवर्तन भयो होला । तर के.आर., मन उहि छ, मुटु उहि छ, जहाँ तिमीले बालककालमै प्रेमको विउ रोपेका थियौ, अझ अहिले त त्यो प्रेमको अंकुरण हुँदै हुर्किएर फक्रिसकेको छ । भनौला, मेरो बालसखाहरुको नामावलीमा अनामिका भन्ने नाम नै छैन । माफि चाहन्छु, मैले अन्जानमा भनौँ वा उक्साहटमा ? गल्ति गरेकी छु । सत्यनारायण  पुजामा कर्ता बसेरै पनि मैले तिमीलाई झुक्याएँ । सायद त्यो मूर्खता थियो, मेरा केटी साथिहरुको लहै लहैमा लागेर तिमीलाई मूर्ख बनाउनु हुँदैनथ्यो मैले । मैले तिमी सँग सबथोक ढाँटेकी थिएँ त्यो दिन, यति सम्म कि, मेरो नाम समेत । आज लाजले पानी पानी हँुदै भन्दैछु, म अनामिका होइन, त्यो नाम त मेरो नामको पहिलो अक्षरलाई अगाडि राखेर मेरा साथिहरु नारायणी, मिना र कामनाको समेत नामको पहिला अक्षरहरु मिलाएर बनाइको नाम थियो “अनामिका” ।

त्यो पुजाको दिन, जब तिमी मेरो प्यारो बालसखा के.आर. बाट "आचार्य पं. के.आर. गुरु" भएर आएको थाहा पाएँ, मनमा त्यसै त्यसै हुटहुटी भयो, म कसरी बोलौँ ? के भनौँ ? भन्ने सोच्दा सोच्दै म टोलाउँथेँ, हो त्यही बेला तिमीले शान्तिमन्त्र पाठ गर्दै जल छर्किन्थ्यौ, तिमी जल विन्दु भएर मेरो तनमा सयर गर्दा रहेछौ, म पानी पानी भएर बगिरहेकी हुन्थेँ । जब तिमीले टिका लगाइदिएका थियौ, मलाई अझ बढि झुकुँ झुकुँ लागिरहेथ्यो र लाग्थ्यो, त्यो हात थोरै माथि सिउँदोसम्म पुगोस्, तर मेरो दुर्भाग्य, तिमीले टाउकोमा राखिदिनुपर्ने फुल पनि थोरै अक्षता मिसाएर हातमा थमाएर छाड्यौ ।

धेरै पटक मैले हाम्रा प्रिय स्कुले दिनहरु सम्झिएर तिमीलाई हेरी टोलाउँदा नारायणी र मिनाले चिमोटेर झस्काइदिन्थे । मैले त आखिर आँफूलाई तिमी भित्र धेरै पहिले नै समर्पित गरिसकेकी थिएँ भने अहिले टोलाएर हेर्नु कुन चाहिँ नौलो भयो र ? तिमीलाई मेरा यी कुराहरु प्रति विश्वास नलाग्न पनि सक्छ, तर सम्झ त ति दिनहरु, यदि मायाँ हुन्थेन भने, स्कुल जाँदा घरबाट मेरो लागि पठाएको खाजा तिमीलाई दिएर पनि म कसरी अघाएर बस्न सक्थेँ ? तिमीले मेरो सबै भाग खाँदै जान्थ्यौ म अघाउँदै जान्थेँ, के यो माया होइन ? मेरो घरमा पाकेको खाजा बोकेर दौडँदै तिमी भएको ठाउँमा आइपुग्थेँ, के त्यसमा मेरो स्वार्थ थियो ? तर के.आर. तिमीले एक कक्षा पास गरे सँगै खै कता गयौ ? भेटीएनौ, भागवत पढेछौ, आँफुलाई कृष्ण बनाएछौ, तर तिम्री पहिलो प्रेमी म राधा बनेर तिमीले अरुसँग समिप भएको हेर्न सक्नेवाली छैन । मैले तिमीलाई कृष्ण त देखेकी छु, तर मलाई राधाको रुपमा देखिनु छैन । सँसारले पुजा त कृष्ण–रुक्मिणीको गर्दैन, तर पनि म मन मारेर, तन बारेर सम्मान खोज्दिन, म साँसारिक रुपमा नै तिमीलाई पाउन चाहन्छु, यसमा म राधाबाट रुक्मिणी हुन समेत तयार छु , बाँकी तिम्रो इच्छा ।

आज पनि म अधुरी अपुरी छु । त्यसैले त समिप हुने चाहना पुरा गर्न घरी तिमीलाई खाजा लिएर, घरी पानी लिएर, घरी प्रसाद त घरी ओढ्ने लिएर पुगेकी थिएँ । रातैभरी भजन गरेका तिमी एक पटक मात्र भजन मण्डपबाट बाहिरियौ, तिमीलाई पछ्याउँदै गएकी मलाई साथीहरुले रोके । मैले धेरै सर्तहरु गरेर मात्र तिमीलाई भेट्न पाएकी थिएँ, त्यही मध्येको एक थियो नाम । तिमीले आँफू पड्कन नसकेको मकै भएको कुरा गरेका रहेछौ, म पनि कुन चैँ सुखमा छु र आखिर ? तिम्रै पिरले दुब्लाएर मर्न आँटिसकेकी छु, हो के.आर. म झिरमा उनिएको माछो भएर दिन काटिरहेकी छु, विन्ति घात गरि नभन्नु ।


"हेर कति दुब्लाइसकेँ खाली तिम्रै पिरमा छु,
पारी जाउँ की वारी बसौँ सोच्दै खोली तिरमा छु ।
भन्न तिमीलाई सजिलो भो घाती रै’छे ‘अनामिका’,
मलाइ भने बुझ्दैनन् कोही माछो जस्तै झिरमा छु ।।"

जिन्दगिका धेरै दिनहरु एक्ला एक्लै भएर काट्नुपर्यो । चाहना थिएन त्यो, थियो त केबल बाध्यता । मैले पनि अहिले त 'व्याचलर' सकिसकेँ । तिमीले पनि 'आचार्य' गरेछौ । अब हामी एक हुने बाटो खोजिरहेकी छु मैले पनि । मन मनले चाहेर पनि मुख खोल्न सकेकी थिइन, तर प्रेमदिवसलाई धन्यबाद, तिमीले दुनियाँको आँखामा प्रतियोगि प्रेमपत्र लेखेझैँ गरेर प्रेमपत्र लेखन प्रतियोगितामा प्रस्तुत गरेका रहेछौ । अरुको आँखामा तिमी एउटा राम्रो लेखक, साहित्यकार खै के के हौला, तर मेरो नजरमा तिमी एक सुन्दर समुन्द्र हौ, प्रेमको समुन्द, जहाँ म निर्धक्क पौडन सक्छु, जिवनको डुँगा पाखा लगाएर ।

अब मलाई धेरै कुर्नु छैन के. आर., म पागल बनिसकेकी छु । मेरो सम्पूर्णता तिमी भित्र लुकेको छ । म भन्नु नै तिमी हौ अब । त्यसैले विन्ति,

"तड्पाउनु तड्पाइसक्यौ अब नतड्पाउ,
मेरै नामको सिन्दुर पोते चुरा किनी आउ,
राधा कृष्ण बनि बसौँ बृन्दाबन भित्र,
जे भनेनि मान्छु विन्ति मलाई नसताउ ।"
लेखौँ कति लेखौँ ? नलेखौँ मनका कुरा सकिएका नै छैनन् । छिट्टै नै भेटेर मनका सम्पूर्ण कुराहरु खोल्ने आशाका साथ, यो कलमलाई रोक्न चाहन्छु ।
पत्रको आशामा........

उहि
तिमीले आफ्नै भनि ठान्ने
................ उर्फ अनामिका

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger