नाकको प्वाल (हास्यब्यंग्य) | बिश्व बिनोद

0 comments

उनी पेसाले पत्रकार, जुझारु पनि हुन्, पत्रकारिता पनि सुचारु छ, पुड्के पुड्के पत्रकारको लागि गिनिज बुक अफ बल्र्ड रेकर्डमा नाम लेखाउने हो भने उहाँ सबभन्दा पुड्कोको दर्जामा दाँजिन्थे होलान् । पुड्को हुनुको फाईदा धेरै हुन्छ, भिडभाडमा समाचार लेख्न सुत्त पस्न सक्नु र संकलन गर्र्न सक्नु उनलाई निकै सजिलो हुन्छ । केबल कारमा पनि सजिलो हुन्छ उनलाई उचाईकै कारणले भाडा तिर्न पर्दैन ।  गाडिमा फुच्चेको भाडा तिरे पुग्ने हजाम कहाँ जाँदा कपाल काटेको पैसा फुच्चेको पैसा तिरे पुग्ने वाह ! क्या बात् पुड्को हुनुको फाईदै फाईदा ।
पुड्को हुनुको फाईदा भएपनि उनलाई हाईटले साईत दिंदैन, कहिले काहिं यसो सभा, सेमिनार, गोष्ठिमा भाग लिन गयो पाँच तल्ला माथिको मिटिङहलमा पुग्न धौ धौ हुन्छ । स्वाँ स्वाँ फ्वाँ गर्दै पुग्यो अनि यस्सो कुर्सिमा उक्लेर अड्डा जमाउन खोज्यो कुर्सिमै उक्लन नसक्नु अर्को बिडम्बना हो, उनलाई कुर्सिमा उक्लन तेन्जिङ नोर्गेले सगरमाथा चढ्या झैं हुन्छ, सगरमाथा चढ्नेले सहयोगि लिएर उक्ले झैं उनलाई पनि कुर्सिमा चढ्न अर्को सहयोगिको आवश्यकता पर्दछ ।बल्ल बल्ल कुर्सिमा चढ्यो पुड्को हुनुको लज्जा बोध लिएर मिटिङका कुरामा चाख लिन थाल्यो कुर्सि अगाडि महालङ्गुर पहाड झैं तेर्सिएको त्यो लाम्काने बाख्रो जस्तो टेबलले अर्को खलनायकको भूमिका खेल्छ अर्थात उन्को अगाडिको कुर्सिले उनको हाईटलाई फाईट गराउँदछ, छेक्दछ ।
पुड्के भए भनेर निर्जिब बस्तुले त कुरा बुझेनन् सजिब अर्थात् मानब भनाउँदाले पनि उन्लाई पटक पटक हेप्ने, चेप्ने गरेकै छन् । हैन, समाचार लेखनको पत्रकारिता लेखेर सबै बाट हेपिनु भन्दा त अब फोटो पत्रकारिता गरौं कि भनेर उनी तम्सिए । मेरी बास्सै फोटो पत्रकारिता गज्जबको हुँदो रहेछ । जमाना मोडेलको पनि रहेछ । एक दिन उनि एकजना अग्लि मोडेलको हट फोटो सेसन गर्दै रहेछन् । आफू परे बामपुड्के, मोडेल परिन बाँसको लिङ्गो जत्रो, अझ छोटा कपडा लाएर आएकी ती मोडेलको फोटो सुट गराँउदा उन्ले त भवसागर नै देखेछन् ।उनि कम्मर मर्काई मर्काई, जिउ फर्काई फर्काई कपाल लर्काई लर्काई पोज दिँदी रहिछिन् बिचरा बामपुड्के पत्रकार बन्धु त क्यामेरा तर्काई तर्काई फोटो खिच्दा रहेछन् । नत्र त खै के के हुने के के ?
आफू त अग्लो मान्छे, ति पत्रकार बन्धुले कस्तो फोटो खिच्छन् भन्ने जान्ने कौतुहुलता जाग्यो, उन्लाई घरैमा खाना खाने निम्तो दिएर जिउ फुलाएर, टाउको धुलाएर गज्जबको तयारी गरेर बसियो । बिचरा तोकिएको समय भन्दा आधा घण्टा पछि लुखुर लुखुर गर्दै आए उनि कुरा के भएछ भने साझा बसमा ओर्लने बेला बसको ढोका अग्लो भएको कारण साझा बसले उन्ले ओेर्लने बेला हुत्याई हालेछ अनि चक्रपथ एक फन्को मारेर त्यसै ठाउँ आई पुग्न फेरी एक घण्टा लागेको रहेछ ।
खाना खाईवरी फोटो सेसनको तयारी भयो, समस्या अति जटिल थियो मलाई पुरा साईजको फोटो चाहिएको थियो तर उन्को उचाईले मलाई अलिक धोका दियो । जति गरे पनि उन्ले मेरो पासपोर्ट साईजको बाहेक फोटो खिच्नै सकेनन् । म उभिउँ उन्लाई मुडामा÷कुर्सिमा राख्नु पर्ने, तर फोटो लिनुछ पुरै शरिरको ! उफ् कसै गरि लिन सकिएन पुरै फोटो लिन । म जति उभिन्थे उनि भुईँ बाट फोटो लिँदा मरि मरि हाँस्थे । म चाहिँ दायाँ बायाँ फर्कि फर्कि बिभिन्न आकार प्रकारका फोटो खिच्न भनेर हौसिन्थें । उनि झन् मरि मरि हाँस्थे । कारण  के भा’को रहेछ भने उन्ले भुईँबाट मेरो फोटो लिँदा होचो भएकै कारणले अनुहारमा क्यामेराको फोकस पार्दा नाकको प्वाल बाहेक अरु केहि खिच्न सकेका रहेनछ् । आखिर फोटो लिनु नै थियो , उन्लाई दुइटा बाँसका लिङ्गाा ठिङ्गो बनाएर बाँधेर अग्लो बनाएपछि बल्ल भने जस्तो फोटो निस्कियो । फोटो खिचे पश्चात् उन्ले होचो हुनुको पिडा बोध गर्दै थिए तर म सोचको कुरामा खोज गर्दै थिएँ । आज भोलि पनि भित्तामा झुण्डिएको त्यहि फोटो उक्त सम्झना दिलाउँछ, आजकाल ति फोटो पत्रकार मन्त्रि ज्युको पिए बनेर हिँडेका छन् । मलाई लाग्छ होचो भएकै कारण उन्ले कति जनाको नाकको प्वालको फोटो खिचेथे होलान् अनि आजकाल मन्त्रि ज्यू को अघि पछि आउरे बाउरे धुपौरे भएर हिंड्दा कतिजनाको नाकको प्वालमा आँखा लगाए होलान् म जब जब टिभिमा मन्त्रिज्यू सँगै उन्लाई टिभिमा देख्छु उन्कै नाकको प्वाल हेर्न थाल्छु किनकी मेरो घरको टिभि अलिक अग्लोमा छ अनि म होचोमा बस्छु । जदौ ।

-बिश्व बिनोद
बेसिशहर नगरपालिका ७, लमजुङ
(सहायक प्राध्यापक ,म.ब.क्याम्पस)
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger