ड्राइभर साप - हास्यब्यङ्य | बिश्व बिनोद

0 comments


खन्ट्याङ मन्ट्याङ परेको बाटोमा लिन्ठिङ लिन्ठिङ गरेको गाडिमा मेरो आडैमा गज्जबले कुम्भकर्णलाई चुनौति दिने गरी मै बसेको सिटलाई नै उस्कै बाउको बपौती सोचेर होला सिमाना मिचेर मेरो आधा शरिर ढाकेर किचिक्क र थिचिक्क पारेर  निदाएको थियो त्यो अपरिचित मान्छे । यो लामो रातमा रात्रि बसको यात्रामा कतिबेला उ मेरो आडमा आएर ढाड तन्काएर सामान थन्काएर र अलिकति सोमरस दन्काएर सुतेछ मलाई यादै भएनछ ।
शिर पुच्छर हेरे । बजिया मोरो त बडेमान्को रहेछ । प्याट्ट भुँडि भा’को भुँडि माथि टिसर्ट ला’को रहेछ उस्ले । उस्लाई उठाएर हेर्ने हो भने उस्ले खुट्टाको बुढि औंला हेर्न निकै मेहनत गर्नु पथ्र्यो । मलाई लाग्थ्यो उस्ले बर्षौं भयो होला सर्लक्क सँग बुढि औंला उभिएर नहेरेको । उफ् घुर्न पनि कति घुरेको हो, उ बेलामा बासुकी नागको नेती बनाएर देवगणले समुन्द्र मन्थन गरेको भन्दा भिमकाय आवाज निकालेर घुर्दै थियो ।
बल गरेर निदाउँछु भन्यो अँह निदाउनै सकेको छैन , आखिर कामधेनु पहाडले किचेको झै थिच्चिएर यात्रा गर्नु जात्रा नै भयो । हैन निदाउनै सकस भो, यस्तो चालाले रात जाँदैन भन्ने सोचेर मैले बिस्तारै उस्लाई उठाउने जमर्को गरे । तर अँह गाउँका कटुवालले कटुवाल लगाए झैं गाडि मात्र हैन गाडि बाहिरको झाडि समेत थर्काउने गरी सुतेको उस्लाई तर्काउनको लागि उठाउन निकै यत्न प्रयत्न गर्नै प¥यो । लौ जे पर्ला पर्ला, प¥या कुरा टर्ला भनि मज्जाले आचि आउने गरी चिच्च्याएँ । अनि बल्ल भगबान् श्रीकृष्णले मुख बाएझैं गरि ति अपरिचितले हाई गरे । अनि ब्युँझिएर आफूले सिमाना मिचेको मा अलिक लाज मान्दै भने सरि ।
रात निकै लामो थियो, रात काट्नै गारो हुने देखेर  म उसँग बोल्न उपयुक्त ठाने । उन्ले आफ्नो परिचय दिँदै भने — म जिल्ला प्रशासनको ड्राईभर सा’प हुँ । वाह क्या अचम्म अरु ड्राइभरले को के भन्थे होलान्  उन्ले त ड्राईभर मा साप् जोडेर ड्राइभर साप् को हँु भने । हुनत साना गाडिका ड्राईभर गुरु होलान् ठूला अफिसमा जस्का हाकिमलाई साप् भनिन्छ त्यस्ता अफिसका गाडिका ड्राईभर चाहिँ ड्राइभर साप् होलान् किनकी हिङ नभए पनि हिङ हालेको टालो भन्या झैं ठूला अफिसको ठूलै चालामालामा तिन्ले आफूलाई साप् सम्झेका होलान ।
मैले पनि कुनै सरकारी अफिसको कर्मचारी भनेर ढाँटे पछि उन्ले आफ्नो अफिसको फेहरिस्त सुनाए । हाकिमको लागि साथ दिने, सँध्रै हाकिमको पिछलग्गु भएर होला ड्राइभर साप्ले हाकिमको पोल खोल्दै थिए ।  हाकिम मात्र हैन अन्य कर्मचारीको पोल एकाएक खोल्दै थिए । गाडि एक तमासले गुडिरहेथ्यो, उनी एक तमासले बोली रहेका थिए । गाडि गएर एक बिसौनिमा खानाको लागि घ्याच्च रोकियो । ड्राइभर साप्ले त्यहीँ नजिकको एक होटेलमा देखाउँदै भने अरे सर जाउँ न त्यहाँ, बडा अच्छा माल पाईन्छ । मैले भने हैन ड्राइभर साप् तपाईले यो कुरा कसरी था’पाउनु भो ? ड्राइभर साप्ले भने कुरा के नि अस्तिको त्यो ज्यानमारा केसमा  हाम्रा हाकिम साप्ले त्यो हत्यारालाई छुटाए बापत् तिनीहरुले यो होटल हामिलाई एक महिनाकोे लागि जे गर्न, खान फ्रि गराई दिएका छन् नि त त्यतै जाऔंन ।
उन्को अफिस समानुपातिक रहेछ । जति दायाँ बायाँ टेबुल मुनि बाट आएको रकम पनि सुर मुनि देखि भुसुना सम्म अर्थात् हाकिम् साप् देखि ड्राइभर साप् सम्म समानुपातिक तरिकाले पैसाको बाँडफाँड हुने रहेछ । वाह ! क्या प्रजातान्त्रिक अभ्यास रहेछ त्यो अफिसमा म त उन्ले सोमरसको सुरमा सुर फुस्केका कुरा सुनेर सरकारी अफिसको चाला माला थाहा पाउन पाएकोमा गद्गद् हँुदै थिए । आखिर अफिसको आन्द्रा भुँडी सबै थाहा हुन्छ भने उनी गाडीका गुरुजी नभएर हाकिम साप्कै सरह ड्राइभर साप् हुन् भन्ने निष्कर्षमा म पुगे । कुरा गर्दै जाँदा थाहा लाग्यो उनि भारतिय भूमिका रहेछन् तर के कसरी हो नेपाली नागरिकता हत्याएपछि त प्रशासन कार्यालयमै ड्राइभर साप्को जागिर खाएर देखाईदिएका रहेछन् ।
अचेल तपाई सरकारी अड्डा तिर धाउँदै हुनुहुन्छ भने अलिक बिचार पु¥याउनु पर्ने हुन्छ कतै तपाई त्यहाँका पावरवाल ड्राइभर साप्लाई हाम्रो परम्परागत सम्बोधन अर्थात् गुरुजी  त भन्नु भा’को छैन, उनिहरु त हाकिम साप्का ड्राइभर साप् हुन् त्यसैले सम्बोधनमा नचुक्नु है , बडेघरका  कुकुर पनि शक्तिशाली हुन्छन् आखिर भुकाई यौटै भए पनि । जदौ ।

-बिश्व बिनोद
बेसिशहर नगरपालिका ७, लमजुङ
(सहायक प्राध्यापक ,म.ब.क्याम्पस)
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger