सडकको कान, टाउको र पुच्छर ! - विश्व बिनोद | व्यंग्य

0 comments

यौटा लेखकको व्यंग्य मज्जाले याद आउँछ त्यहाँ लेखिएको थियो - सहरमा एक दिन ठूलो जुलुश सडकमा हिडिरहेको रहेछ । गाउँका एक खेति किसानी गर्ने मानिस सहर आएछन्, उन्ले कहिल्यै सडकमा निस्कने जुलुश देखेका रहेनछन् । लामो समयसम्म एकनाशको लाईन देखेपछि ती मानिसले भनेछन् - ओहो ! जुलुशको पुच्छर त यत्रो रहेछ, हैन यो जुलुशको टाउको कत्रो होला ?

यी सडक न केतु न राहुका हुन् न अंकल न बाउका हुन् तर पनि सडकलाई आफ्नो स्वेच्छामा चलाउन खोज्ने र व्यबस्था ढलाउन खोज्नेको खिचातानीको मनोमानीले काम गरिरहेको पाईन्छ ।मच्चिने, थच्चिने काममा सडकको भूमिका महत्वपूर्ण हुन्छ । कसैलाई यो सडकले सुताईदिन्छ त कसैलाई यो सडकले उठाईदिन्छ । जिरो देखि हिरो सम्म बनाउने पनि यै सडक नै हो । सडक नहुँदो त यत्रा आन्दोलन कसरी सफल हुन्थे होलान् । भिखारीको आस र बास यै सडक बनेको छ । हजारौंलाई रोजगारी दिने यै सडक नै हो । सडक ब्रम्ह हो कारण यस्ले धेरैको पेट भरेको छ । सडक नहुँदो हो त तपाईका घर वरपरका जग्गा दलाली कसरी पालिन्थे हँ ? सडक नहुँदो त ठेकेदार कसरी पालिन्थे हँ ? सडक नहुँदो हो त नेतालाई कमिसन सडकको ठेकेदारबाट नगई कहाँबाट जान्थ्यो हँ ? त्यसैले सडक लालन पालन कर्ता हो, भुँडिभर्ता पनि हो । यसो सोच्दा त लाग्छ हाम्रा सांसद माननियले यी सडकलाई पुज्नुपर्छ । एक दिन क्यालेण्डरमा सडक पूजा गर्ने दिन भनेर छुट्याउनु पर्छ किनकी सडकबाट उठेको नेताको आदिम थलो यै सडक हो जस्ले उस्को भलो गरेको थियो ।

व्यबस्था बिरोधि आन्दोलन चर्केको बेला एक दिन म पनि सहरको कुना काप्चा चहारिरहेको थिएँ त्यसै बेला गाउँका एक जना मानिस सहर आएछन् । अत्यन्तै अनभिज्ञ र जिज्ञासु स्वभावका उन्को प्रश्नहरुले मलाई कुत्कुत्याउन थाल्यो । त्यति बेला सडकमा चर्को सँग लाउड स्पिकर र माइकमा नाराबाजी गरिँदै थियो । आचि आउने गरेर कार्यकर्ता र हर्ताकर्ताहरु चिच्याई रहेका थिए । यसरी चर्को आवाज लगाउनेको लर्को देखेर ति गाउँले दाईले मलाई सोधे - हैन बाबु यी मुन्छे किन करा'का हुन् ? यो बाटोको कान कत्रो हुन्छ हँ ? यत्रो ढ्वांगमा करा’को त सुन्ने कान त निकै ठूलो हुन्छ होला है ? कहाँ छ बाबु देखाई देऊ न ! यत्रो आवाज सुन्ने के यो बाटोको कान छ ? - यो कुरा सुनेर म नै अचम्ममा परें ।

सडकमा कार्यकर्ता पनि अलिक बुझेका ल्याउनु नि कहिलेकाहीँ स्कुलका नानीबाबुलाई ड्रेसमा नै उतारेर संख्या देखाउन लालयित भएका पनि पार्टीहरु पनि देख्न सकिन्छ । एक दिन त्यै सडकमा चर्केको आन्दोलनका एक सहभागिलाई मैले उनी आन्दोलनमा आउनुको औचित्य सोध्दा उन्ले भने — हेर्नुस अहिले फलानो पार्टीको कठपुतली सरकार छ , त्यो कठपुतली सरकार ढालेर हाम्रो कठपुतली सरकार गठन गर्नको लागि हामी यहाँ आन्दोलनमा आ’का । वाह ! उन्को कठपुतली उत्तर सुनेर मलाई पनि देशको शेष कहाँ रहला भन्ने पो भयो । तर केही महिना पछिको चुनावमा ती कठपुतली उत्तर दिने कठपुतली कार्यकर्ता देशको माननीय भएछन् ।

आजकल त बाटोेले मानिसलाई बाठो बनाएको छ । बाठो बन्नको लागि लाठो लिएर सडकका कसैको सातो लिनुभयो भने तपाईको सामाजिक बढुवा पक्का छ । तपाई अगुवा बन्नु हुन्छ, पछुवाहरु कछुवा गतिमा तपाईको पछि पछि आइनै हाल्छन् । बाटोमा राजनीति धेरै गरेर आफ्नो सामाजिक पदोन्नती पढ्काएकाले नै होला बाटो भन्ने शब्द अपभ्रंश भएर बाठो भएको होला । यो कुरा भाषा बिज्ञले पनि बताउलान् ।

एक दिन राँके जुलुशको दिन थियो । गाउँका बालबच्चाहरु राँकेजुलुशका मानिसलाई नियालेर हेरी रहेका थिए । ति अनभिज्ञ जमातबाट कसैले भन्यो — यो बाटो दिउँसो बत्ति नबालीकनै देख्न सकिन्छ किन बत्ति बालेर बाटोको मुख हेर्न खोज्या’हुन् ? के बाटोको मुख हुन्छ र ? प्रश्न सोध्नेले सोध्यो, म सुन्ने अनुत्तरित चाहिँ पक्कै थिएँ । अर्को सानो नानुले पनि कुरा उठाइन् — यस्सरी बाटोमा राँको बाल्दा खसेको आगोले सडकलाई पोल्दैन होला ? अर्को एउटा सानो भाई पनि त्यही जमातबाट भन्न थाले — हाम्रो घरमा खाना पकाउन मट्टितेल छैन, खान नपाएको पनि यत्रा दिन भैसक्यो , यी मानिसले बाल्ने राँके जुलुुसको मट्टितेलले त हामीलाई कत्ति दिन खान पुग्थ्यो , मुक्तिको जुक्ती सोच्नेहरुले यो सोचिदिन्थे कि ?

सडक गिट्टि फोर्नेहरुको लागि मुटु हो । यही सडकको छेउमा गिट्टि फोरेर जिन्दगी पाल्ने र फाल्नेहरु धेरै छन् , तिनै गिट्टि छापिएर लाखौंका गाडीहरु गुड्ने गर्छन् तर ति सडकका मजदुर जस्ले गिटी फोरे, जस्ले पहरा भत्काए, जस्ले माटो सम्याए उनीहरुले भड्खालो परेको जिन्दगी सम्याउने मौका नै पाएनन् । आखिर सडकको कान, टाउको र पुच्छर भैदिने र सुन्दिने भएको भए यस्तो हुन्थेन होला । यस्ले सुन्ने भैदिएको सडकछापे नेतालाई सडकले सम्झाउँथ्यो होला, अनि भन्थ्यो होला - ए माननीय तिमी पनि कुनै बेला यही सडकमा सुत्थ्यौ, यही सडकबााट तिमी उचालिएर माननीय बनेका छौ, हेर त तिम्रा सयौं जुत्ता यही सडकमा फाटेका थिए तर आज यो सडक भत्किदा तिमी किन सलल्ल गाडिमा गुड्छौ ?

यसो सोच्छु सडकको मुख पुच्छर, नाक सबै सबै भैदिएको भए क्या मज्जा हुनेथ्यो होला । यो सडकको पुच्छर ढेडु हनुमानको जत्रो भएको भए भ्रष्ट, छुचा, अनाबश्यक हनुम्यानलाई पुच्छरले नै बटारेर फाल्नेथ्यो होला । यस्को मुख भैदिएको भए ति भ्रष्टको नाम चिच्च्याएर कानै खाएर बहिरो बनाइदिनेथ्यो होला। सडक छापे नेताको नाम र तिन्का संघर्षका दिनका कथा नयाँ पुस्तालाई सुनाएर चकित तुल्याउने थियो होला । यस्को आँखा भैदिने भए बाटोको कुनामा सुटुक्क मुत्रत्याग गर्नेहरुलाई, फोहरको डंगुर फाल्नेहरुलाई यस्ले हेरेर चिच्चाउने थियो होला । परराष्ट्र मन्त्रालय अगाडिको कम्पाउण्डमा घुमाउरो पारामा नमुत भनेर देवी देवताको फोटो टाँस्नु पर्थेन होला यदि सडकको आँखा भएको र बोल्ने भएको भए ।  इमान्दार सडक साच्चै मानवीय स्वभाबको भैदिने भए कस्तो कस्तो इमान्दारिता प्रकट गथ्र्यो होला ?

सडक सबैको माग बनेको छ । सडक आन्दोलनको माग बनेको छ । सडक आन्दोलनको राग बनेको छ । यदि बन्दा बन्दै अरुलाई सुन्यबाट पुण्य सम्म पु¥याएर यो खाग बनेको छ । यो कहिले गस्ति लिएर हिँड्छ, यो कहिले मस्ति लिएर हिँड्छ । यो समाबेशी छ, सबैसँग मिल्छ न यस्ले जनजातिको नारा लगाउँछ न यस्ले यहाँ हिड्नेलाई यति यति प्रतिशत बाहुन, क्षेत्रि, जनजाति, दलित मधेशी, अल्पसंख्यक, पिछडा हिँड्नै पर्छ भनेर नारा नै लाउँछ । यो त केबल फराकिलो छाती बोकेर सिंगो नेपालीलाई बोकेर हिँडिरहेछ तर बिडम्बना उस्का गर्बिलो छाती हिस्सेदारीको रागका आन्दोलनले नतमस्तक बनाउँछ । अनि सोच्छ — के पहाडमा ति मधेशका मानिसहरु यो सडकमा हिडेनन् र ? के मधेशका सडकमा हिमालका शेर्पाहरु हिडेनन् होला र ? यदि देशलाई भागबन्डाको डण्डा घुमाएर बितण्डा मच्चाइयो भने के यो सडकमा निश्चित जातिका मात्र हिड्लान् र ? निश्चित पार्टीका मात्र हिड्लान् र ? तपाई पनि सोच्नुस् त तपाई सडकमा हिँड्दा सोझो सडकलाई गरेको ज्यादती र तपाई सँगै हिँडेका लामो, थेप्चे वा थरीथरीका अनुहार ! के सँधै एकनाशका मानिसहरु यो सडकमा हिँडे र ? सडकको नाक, मुख भैदिएको भए यो उत्तर अबश्यै पाईन्थ्यो तर तपाई मानव हुनुको नाताले बताउन सक्नुहुनेछ यिन्का उत्तरहरु । जदौ ।

-विश्व बिनोद
बेशीसहर नगरपालिका ७, लमजुङ
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger