रामे - सचिन गिरी

0 comments

काठमाण्डौको एउटा सानो गल्लीमा रामेको घर | वरिपरी काठमाण्डौको कमजोर अन्धकार र घरभित्र चाँही प्रेसर कुकरको बलियो स्वोर |
“मानव, खाना खान आइज बाबु” सृष्टी प्रेसर कुकरको बलियो स्वोरलाई लत्याउदै चिच्याउँछिन |
“एकछिन !”
“बुवालाई नि बोला है !“
“ल !”

तर भान्छामा नारायण र मानवमात्र छिर्दैनन् | उनीहरुको पछी अर्को एकजना पनि हुन्छ | उसलाई त्यहाँ बोलाइएको हुदैन, त्यै पनि उ पछी-पछी भित्र छिर्छ | मानव र नारायण डाइनिंग टेबलको कुर्सिमा बस्छन् | उ, उमेरले मानव भन्दा तिन वर्ष जेठो दाई भने भुइँमै थुचुक्क बस्छ |

“रामे !” भुइँमा बसेको रामेलाई देख्ना साथ सृष्टी चिच्याउछिन्, मानौँ यसरी की उनमा प्रेसर कुकरकै भूत चढेको छ | “तँलाई कति चोटी भन्नु, ह्या नबस भनेर? जति भनेनी लाग्दैन तँलाई कुकुर ?”

सृष्टीको भूतमा धेरै नै हावा रहेछ क्याँरे ! उनि रामेको जगल्टा समात्छिन्, र उसलाई त्यहाँबाट उठाउन नै खोज्छिन | नारायण हेरी रहन्छन | रामे बिचरा हल-न-चल हुन्छ | टेबल तिर आखा घुमाई कुटुक्क थुक निल्छ र शरीरलाई त्यँतैतिर ढाल्ने प्रयत्न गर्छ | तर अफसोस, सृष्टी उसलाई टेबलतिर लग्दीनन् | उ ढोका बाहिर बजारिन पुग्छ |

रामे झसङ्ग हुन्छ | शाँन्त समुन्द्रझैँ कुल रामेमा एक्कासी रिसका छाल उठेर आउछन | का, के, कसरी भयो बुझ्न नसकी रामे यताउता मुन्टो हल्लाउछ र भिमसेनका सेना अंग्रेजमाथि जाइलागेझैँ सृष्टीतीर जाइलाग्छ | कदाचित, सृष्टी अंग्रेजझैँ डराउदिनन् | अझ भन्ने हो भने, कसैले उसलाई देख्दा पनि देख्दैनन् | ता पनि उसको जोश भने कम हुदैन | उ झन् चिच्याउन थाल्छ | तर छातीमा तोपको गोला लाग्न साथ शाँन्त भएको योद्धाझैँ, मस्तिष्कमा ‘होस’को गोला के लागेको थियो, उ ठाउको ठाउँ शान्त हुन्छ | यत्रो घटना घट्दा समेत उ केहि बोल्दैन | ‘आमा, किन फेकीए म ढोका बाहिर ?’ उ चिच्याउदैन | हातमा मुन्टो राखी चुपचाप भूइँमा बसी नै रहन्छ | कसैलाई केही भन्दैन | खै, किन भन्दैन ?
***

दिउसोको चर्को घाम, सुनसान घर र पर कतैबाट आइरहेको थोत्रो मोटरसाइकलको आवाज | यिनैबीच पिढीमा टोलाईरहेको रामे | यस्तो लाग्छ, उ कसैको पर्खाईमा छ |

सबै आ-आफ्नो काममा गएका छन् | मानव पनि स्कुल गएको छ | अनि रामे ? रामे स्कूल जादैन | उ कहिँल्यै जादा पनि गएन | खै, किन गएन ? उ दिनहु घरै बस्छ | दिउसोको घाममा पिढीमा टोलाउछ, र साथीहरु पर्खन्छ | यिनै साथीहरुसंग उ दिनभर डुल्न हिड्छ, टोल टोल चाहर्छ, हस्छ, खेल्छ,रमाउछ- अनि आफ्नो दिन बिताउछ | यही नै उसको दिनचर्या हो |

तर आज भने उ गल्ली-गल्ली चाहर्न पाउदैन | हास्दै, रमाउदै टोल टोल डुल्न पाउदैन | आज उसका साथी आउदैनन् |सायद घाम चर्किएको कारणले होला, अहँ- तिनीहरु आउदैनन् | आउछ त केवल एउटो कुखुरो | पल्लो घरको एउटो रातो भाले | रामेको अघिल्तीर आएर जिस्काएझैँ कम्मर हाल्लाई हाल्लाई नाच्न थाल्छ | रामे भने कुखुरो देखेर बिजुली चम्कँदा झस्किएझैँ झस्कन्छ |

रामेको छिमेकमा एउटा टिनको छाप्रो छ | त्यहाँ आत्माराम र उसको छट्टु भाइ बस्छन् | आत्माराम बैंकका सेक्युरिटी गार्ड हुन् तर उनले घरमै थुप्रो कुखुरानि पालेका छन् | जागिरको तलब भन्दा यँहि कुखुराबाटै उनको बढी आर्जन हुन्छ | हुन त मान्छे खासै काले हैनन्, तर सबैले उनलाई आत्माराम नभनी कालुदाई-कालुदाई भन्छन् | कुरो यँहि दुइ हप्ता अघिको हो | यिनै security guard कालुदाईको एउटो कुखुरो हराएछ | एउटा हुर्केको मज्जाको भाले ! त्यो भाले भाले होइन, आत्मारामको लागि हजारका पाचओटा नोट थियो | त्यसैले त उसले धम्मरधुस लाएर त्यसलाई खोज्यो | तर जति कम्मर कसेर खोजे पनि कतै नमो निशान भेटिएन | आखिर कसले चोर्यो त उसको भाले ? दु:खको कुरो, उसले भाले त भेटेन भेटेन, चोरीको शंका गर्नेजस्तो पनि कोही भेटेन | भेटेका एक दुइजनालाई पनि आरोप लाउने आँट नै भएन | आखिरमा कालुको रिस शाँन्त पार्नलाई फन्दामा पर्यो बिचरो रामे-
“यो रामेले त एउटा गजबको भालेनै चोरेछ | हेर्नुस न दिदी, अहिले हेर्दा त एउटा भालेनै छैन !”

कालुदाईका भाले रामेको घरतिर आइनै रहन्थे | रामेले पनि कुनै कुखुरा घरमा आउना साथ लाखटेर धपाई नै हाल्थ्यो | यसरीकी मानौँ, कुखुरा धपाउनु उसको ठुलै सोख थियो | यसरी रामेले कुखुरा धपा’को सबैले देखेका नै थिए | हुन त मानवले पनि कुखुरा नलखटेको होइन, उसलाई कसैले नदेखेका पनिहैनन्, तर उसलाई भने आरोप लाउने न कलुदाईको हिम्मत नै भयो, न अरु कसैको मानसिकता | लखेटेकै कारणले भने सबैले रामेलाई छड्के आखाले हेर्न मात्र के थालेका थिए, ट्याक्क उँही बेलामा कालुदाईको छट्टु भाइ भिलेन बनेर आगोमा घिउ थप्ने काम गर्यो-
“त्यो हर्केका’ट ल्याँ’को भाले हैन दाइ ?”
“अँ”
“हो, हो ! अस्ती रामेले नै बारितिर लखट्दै थियो | मैलै देख्याथे !”
त्यस दिन रामेलाई बाधेर कुटियो, भर्यांग मुनिको अध्यारो कोठामा थुनियो र बेलुकी खान पनि दिइएन | कुखुरा चोर भने खुलम खुल्ला दिनभर डुल्यो, साझ घर आएर दुइ थाल भात घिच्यो र आनन्दले सुत्यो | कुखुरा चोर रामे थिएन | बरु, रामेकै अगाडी चोरेएको थियो त्यो कुखुरो, राम्रोसंग चिनेको थियो रामेले चोरलाई | चोर नौलो कोही थिएन | मानव पनि थिएन | अरु कोही नभएर त्यँहि आगोमा घिउ थप्ने भिलेन, कालुदाइको छट्टु भाइ नै थियो | तर रामे केहि बोलेन | कालुदाइ नभा’को मौका छोपी चारजना मिलेर रामेकै सामुन्ने भालेको मासु र रक्सी दन्काएका थिए कालुदाईका छट्टु भाइ र उसका साथीहरुले | सबै देखेको थियो रामेले | त्यै पनि उ बोलेन | कुटाइ खाई रह्यो, तर बोलेन | खै, किन बोलेन ?
***

साझको शितल बतास, र टहटह लागेको जुन | यही जुनको उज्यालोमा रामे र मानव खेलिरहेका फुटबल | एक्कासी भित्रबाट सृष्टी आऊछिन् र चिच्याउछिन्-
“छी...! त्यो रामेसित नखेल बाबु, ह्या आइज !”
फुटबल लिएर मानव भित्र दकुर्छ |

“आखिर किन यती धेरै अन्तर मानव र ममा ? किन यस्तो भेदभाब ? किन हेपिन्छ मलाई यसरी ?” यस्तै सोच्दोहो रामे | नत्र किन यती serious भएर पिढीमा बस्थ्यो होला र ? अझ उसको रसिला आखा हेर्नेलाई त झन् यस्तो लाग्छ- कतै बल्झी रहेकोनै छ अझै उसको मुटुमा, हिजोको बल्ड्यांगको घाउ | कतै उम्लीनै रहेको छ, कालुदाईको भालेको कुटाइ | हुन त यस्ता घटना उसको जीवनमा कति घटे कति ! उसलाई बानी पनि भइ सकेको थियो अब त | थाहा पाईसकेको थियो उसले- उसको जीवन यस्तै हो भन्ने | तर पनि आज उसको अनुहार यति emotional हुन्छ कि हेर्दा लाग्छ- निथ्रुक्कै भिजेको छ उ पिडामा | चप्पक्कै डुबेको छ उ |
तर यत्तिकैमा कुकरको सिट्ठी बज्छ | उ झसङ्ग झस्किन्छ |
“मानव, खाना खान आइज बाबु”
“एकछिन !”
“बुवालाई नि बोला है !“
“ल !”

रामे उठेर आङ तान्छ | अघिसम्म डुबेको भाव देखाउने उसको अनुहार अहिले हेर्दा भने लाग्छ- रामे उडीरहेको छ; कुनै ओभानो समुन्द्री चरा समुन्द्रमाथि उडेझैँ, उडीरहेको छ | कान ठाडा पर्दै उ उठ्छ | नारायण र मानव भान्छातिर गइरहेका हुन्छन् | रामे उनीहरुकै पछी लाग्छ | अहँ, उसलाई बोलाइएको हुदैन | तर पनि पछी लाग्छ | हिजो खाएको बल्ड्यांग पनि बिर्सेको छैन उसले | तर पनि पछी लाग्छ | खै,किन लाग्छ ? घुमाउरो पुच्छर हल्लाउदै र लामो जिब्रो निकाल्दै उ भान्छा भित्र छिरछ |

***
(कथा लेखकको फेशबुकबाट साभार गरिएको हो)

Audio will be available soon,......
Download not available
तपाईको प्रतिकृयाले लेखकमा उर्जा थप्ने काम गर्न सक्छ, कृपया आफ्नो अमुल्य सुझाव व्यक्त गर्नुहोला ।
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger