कबिता - एउटा मान्छे | आशिष दनाई

0 comments

एउटा झुत्रे झोला बोक्छ,
केही कपडाहरु छन् झोलाभित्र
केही औसधीका ट्याबलेटहरु छन्,
जिन्दगी धान्ने,
केही यादहरु पोको पार्छ,
कैले यता कैले उता पुग्छन् पाईलाहरू,
पाईलासँगै शरीर पनि हिड्छ,
गगन चुम्ने सपनाहरु बोकेर,
सागरको मोती निकाल्ने जोस सहित
हिड्दैछ 'एउटा मान्छे' !

झोलाभित्रै कैद छ,
सम्झनाहरुको एउटा पोको
प्रियसीको उपहार -
एउटा कुसुमे रुमाल भित्र गाँठो पारेको,
स्वर्गबासी आमाको
नाकको फुली र कानको मुन्द्री,
कसैले थमाएको थियो त्यो उस्को हातमा
आमाको निधन हुँदाको दिन,
बेलावेला फुकाल्छ त्यो गाँठो
आमाका यादहरुले सदाउँदा,
प्रियसीको झझल्को आउँदा,

कहिले भिखारी बन्यो,
कहिले भरिया बन्यो,
कहिले पागल बन्यो,
यो समाजका अगाडी
आखिर कस्ले बुझ्ने उस्को मर्म
कस्ले सुन्ने उस्को मुटुको ढुकढुकी
केबल भित्र भित्रै रुन्छ
आफैसँग कुरा गर्छ
सम्झिन्छ बा'को अनुहार,
सम्झिन्छ प्रियसीको फाटेको सारी,
उ सम्झिन्छ आफु बिदेसिनुको कारण,
बा'को मुहारमा मुस्कान ल्याउनु थियो,
प्रियसिको फाटेको सारी फेर्नु थियो,

आज आफ्नै‌ मुहार बा'को जस्तो भैसक्यो,
आफ्नै कपडा प्रियसीको जस्तो भैसक्यो,
थाहा छैन कहाँ छन् बा,
कस्ती छन् उनी थाहा छैन,
आँखभरी घरकै सम्झना बोकेको
मनभरी पिडा बोकेको,
बिचरा 'एउटा मान्छे' !!
-आशिष दनाई
बेसीशहर लमजुङ
२०७२-०२-०७

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger