सिम्रिकाः एक रहस्य | किरण बराल

0 comments

भदौरे झरीको क्लाइमेक्स चलिरहेको थियो । दिनहरु हठात् उजेलिरहेका थिए, मेन्सुरेसन अवधि बारेर चोखिन नुहाएकी स्त्रीजस्तै । साहिल एक रेडियोकर्मी, अक्सर ऊ पुरानो कावासाकी बाइक चढ्ने गर्दथ्यो । त्यो दिन पेट्रोल सकिएर घर अगाडी गाडी कुरीरहेको थियो । अगाडि रोयल शिवनगर लेखिएको सुन्तला रंगको गाडी देखियो । उसले हात दियो । गाडी घ्याच्च रोकियो, साहिल चढ्यो । हँसिलो अनुहार, छोटो कपाल, लामो नाक यस्तै यस्तै बडी फिचर भएकी अठार बीस बर्षे एउटी केटी सिटबाट जुरुक्क उठ्छे र भन्छे, “साहिल सर, आउनु यहाँ बस्नु ।” दिमाग सत्रपटक रिस्टार्ट गर्दा पनि उसले त्यो केटीको बारेमा स्मरण गर्न सकेन । आफुलाई चिनेको मान्छेलाई पुरै नचिनेको व्यवहार गरौं भने उसको भावनामा ठेस पुग्ला भन्ने सोच्दासोच्दै एउटी मोटी महिला हत्त न पत्त सिटमा बसिहालिन् । बाबु, नरिसाउनु है, साह्रै थाकियो । मोटो ज्यान भ’सी सारै दुख पाइनी हैच ।
लामो नाक भएकी केटीले साहिललाई छोडेको सिट यतिबेला भने अरु कसैको भइसकेको थियो । अब दुवैजना उभिनुको विकल्प थिएन । कच्ची बाटो भएकोले कतिपटक अरुको ज्यानको भार आफुमाथी आइपर्ने र कतिपटक आफ्नो भार अरुमाथि पर्ने अवस्था पटक पटक दोहोरिन्थ्यो ।

तपाई र मेरो भेट पहिला कहाँ भएको रे ? मैले त कस्तो बिर्सिएको । साहिल मध्यमार्ग खोज्दै सोध्छ । यसरी सोधेपछि त्यो लामो नाक भएकी केटी कम्तीमा पनि पुरै दुःखी हुन्न भन्ने विश्वासमा । म सिम्रिका के चिन्नुभएन ? तपाईंको मंगलबार राति आउनी प्रोग्राममा कविता पठाइरहन्छु । हुन त हाम्रो भेट भएको छैन तर रेडियोको फेसबुक पेजमा तपाईंको फोटो देखेर चिनिहालें नि मैले ।

तपाईंको प्रोगाम कस्तो राम्रो लाग्छ । सध्धैं सुन्छु नि, आएको बेला । तर तपाईंको रेडियो खाली बन्द भइरहन्छ । सुन्न खोजेको बेला जहिले नि स्याँ स्याँ मात्र । झ्याउ नै लाउनी भन्या । अलि राम्रो बजिरहनी बनाउन परो सर ।
तपाईंलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाको एसेप्टै गर्नु भएन । हुन त मैले नि नाम फेरेर फेसबुक बनाकी थिएँ । त्यै भर’नि होला । ऊ बोल्दै थिई । कुरा नसकिँदै झर्ने ठाउँ आइहाल्यो । सिम्रिकाजी, तपाईंका कविता एकदम राम्रो लाग्छ । पठाइ रहनुस् है । आफ्नै नामबाट रिक्वेस्ट पठाउनुहोला म एसेप्ट गर्छु । यति भन्दै दुवै आआफ्नो बाटो लागे ।

रेडियोमा पुग्दा नपुग्दै सिम्रिकाले आफ्नै नामबाट रिक्वेस्ट पठाइसकीछ । उसको पुरा नाम थियो सिम्रिका ओझा सिम्पल । सायद सिम्पल उसको साहित्यिक नाम थियो । साहिलले एसेप्ट गरिहाल्यो । दिनहरु बित्दै गए । साहिलले सिम्रिकाका कविताहरु आफ्नो प्रोग्राममा प्रसारण गर्दै गयो । उसका कविता आजभन्दा भोलि राम्रा भोलिभन्दा पर्सी राम्रो हुँदै गए । परिष्कृत र परिमार्जित हुँदै कविताहरु प्रोफेसनल कविले लेख्ने स्तरमा पुग्न थाले । आफ्नो प्रोगाममा स्तरीय कविताहरु वाचन गर्न पाएकोमा साहिल पनि दंग थियो । साहिलले सिम्रिकाको धेरै कुरा याद नगरेपनि चुच्चो परेको लामो, सर्लक्कको नाक भने खुब याद गरेको थियो । यति देखेपछि सिम्रिका एक ब्रम्हाण पुत्री हो भन्ने कुरामा कन्फ्युज थिएन ।

एकदिन अनायासै सिम्रिका बजारमा भेटिइ । साहिल सर, नमस्ते ! सर सन्चै हुनुहुन्छ ? अनि रेडियोमा जान लाग्नु भा’को ? नमस्ते सिम्रिका । सन्चै छु । अनि तपाईं आज कता आउनु भा’को नि ? रेडियो जान लाग्नु भा’को भन्ने प्रश्नको जवाफलाई अनुत्तरित राख्दै साहिलले सोध्यो । अँ सर घरमा बाख्रा बिरामी भाथ्यो अनि भेट्नरीमा गएर औषधी लिएर आको । सर, अ‍ैले जान्छु है, बस छुट्छ फेरी । लास्ट बस हो ।
सिम्रिका र साहिल पटक पटकको भेटले भावनात्मक रुपमा नजिकिदैं गइरहेका थिए । रेडियोकर्मीको धर्म निर्वाह गर्ने क्रममा आफ्नो लिस्नरहरु आफुलाई जतिसुकै मन परेपनि उनीहरुसंगको सम्बन्धमा मार्जिन राख्नुपर्छ भन्ने कुरा साहिलले भुलेको थिएन । ऊ प्रविधीको प्रयोगले सिम्रिकासम्म जुनसुकै रुपमा पनि पेश हुन सक्थ्यो । प्रसंग बटारेर वा कविताको प्रयोगद्धारा पनि सिम्रिकासम्म आफ्ना कुरा राख्न सक्ने हालतमा थियो । तर पेशाको धर्मलाई राम्रैसंग बुझेको हुनाले उसले सिम्रिकालाई मात्र बढी इन्डिकेट गरेर कहिल्यै प्रोग्राम चलाएन । अनावश्यक रुपमा सिम्रिकालाई फुर्काउने वा प्रभावमा पार्ने काम पनि गरेन । तर उसले सिम्रिकाको लेखन शक्ति चाहिँ महसुस गरिसकेको थियो । उसलाई पूरा विश्वास थियो, त्यो लामो नाक भएकी केटीले यस्तै मेहनत गरी भने आफ्नो नाकको आकारको सगरमाथा चुम्छे भनेर ।

सिम्रिका एकाएक गायब भई । साहिलले फोन गर्यो, फोन उठ्दैन । म्यासेज गयोर्, रिप्लाई हुन्न । आजसम्म सिम्रिकाको विषयलाई लिएर तनावमा नआएको साहिल एकाएक तनावमा पर्छ । उसले सिम्रिकाको घर नजिकैकी बहिनीलाई सिम्रिकाको बारेमा सोधेपछी थाहा लाग्यो सिम्रिकाको बिहे हुन लागेको रहेछ । उतिबेलै सिम्रिकाको रिप्लाई आयो, सर मेरो बिहे हुन लागेको छ । म पढ्छु, आफ्नै खुट्टामा उभिने भएर बिहे गर्छु भन्दा बाबा फिटिक्कै मान्नुहुन्न । म तनावमा छु सर ।

लामो नाक भएकी केटीको बिहेको खबरले साहिलमा अचम्मको प्रभाव देखियो । आजसम्म उसको बारेमा गहिरिएर नसोचे पनि, उसलाई प्रेमिकाको रुपमा कल्पना नगरेपनि, किन किन साहिलमा अचम्मको विरक्तता देखियो । यति राम्रो कविता लेख्ने र एउटा उचाई छुने सम्भावना बोकेकी लामो नाक भएकी केटीको बिहेको खबरले उ दुःखी भयो । साहिल र सिम्रिकाको संवादमा आजसम्म मायाप्रेमका कुनै भावहरु झल्किएनन् सायद । तर साहिल सिम्रिकाको प्रगती हेर्न चाहन्थ्यो अनि चाहन्थ्यो उसले शिखर चढेको पनि ।

अब साहिल कन्फ्युज हुन थाल्यो । उसको चिन्ता सिम्रिकाको उचाई छुने सम्भावनाहरु बिहेका कारण क्षीण हुन्छन भनेर हो या अन्तर्मनमा लुकेको सिम्रिका प्रतिको प्रेमले हो ? खैर, यो दुनियाँमा ककसको चिन्ता लिएर दुःखी हुनु भनेर उसले आफ्नो मनलाई सम्हाल्यो । चित्त बुझायो । सबै ठिकठाक हुँदै गयो । उसको मन फेरी लयमा फर्किन थाल्यो । उसको स्मरणमा सिम्रिका भन्ने एउटा ऐतिहासिक पात्रमात्र बाँकी थियो, न कि उसले कल्पना गरेको एउटा महान कवि, उसको अन्तर्मनले नजानिँदो तरिकाले स्वीकार गरेको प्रेमिका ।

सिम्रिकाका कविता नआएपनि प्रोगाम रोकिनेवाला त थिएन । चलिरहेकै थियो । करिब आठ महिनापछि सिम्रिकाको नामको म्यासेज प्राप्त भयो । यसमा कविता थिएन सम्बोधन र भुमिका मात्रै थियो ।

सर नमस्कार, धेरैपछि सम्झिएँ । तपाईंलाई अचम्म लाग्यो होला है ? सर, मेरो बिहे भयो । तर बाबाले सोचेजस्तो मेरो घरबार राम्रो हुन सकेन । केटा ड्रगिस्ट रहेछ । मलाई असाध्यै डर लाग्यो, ऊसंग बसिरहन । मलाई माया त गथ्र्याे तर उसले मेरो लागी भनेर ड्रग त्याग्न सकेन । बाबाले धनी भनेर बिहे गर्दिनुभयो । त्यति पढेलेखेको पनि रहेनछ । कम्पनीले पनि ड्रगिस्ट भएको थाहा पाएर जागीरबाट निकालिदिएछ । मैले त उसलाई डिभोर्स दिएर अहिले माइतमै बसेकी छु । सर, आजकल मलाई कविता लेख्न मन नि लाग्दैन । सायद अब म कविता लेख्दिन होला । म कवि भनेर चिनिन पनि चाहन्न । मेरा कविताहरु फेरी दोहोराएर नपढिदिनु है ।

डिभोर्स गरिसकेपछि लामो नाक भएकी केटीले फेरी माइतीमा बस्न थालें भनेर लेखेको कुराले भने साहिल झसङ्ग भयो । सोच्यो, एउटा घरबार टुंगिसकेपछि बाबाको घर उसको लागी किन माइती भयो ? किन घर हुन सकेन ? त्यसो भए उसको घर कहाँ हो त ? उसले पहिलेकै घरलाई घर मानेकी छे या अब फेरी जोडिने नयाँ सम्बन्धले दिने घरलाई ? साहिल निरुत्तरित भयो ।

साहिलमा एक प्रकारको खुसी छाउन थाल्यो । अब थाहा हुन थाल्यो उसले आठ महिनासम्म दुःखी भएर बिताएको कुरा । एकाएक साहिलका आँखामा चमक देखिन थाल्यो । मनमा कान्ति छाउन थाल्यो । यसैयसै फुरुङ्ग हुन थाल्यो उसको मन । खासै चिया नपिउने मान्छे त्यो दिन खै के भएर हो, रेडियोमा सबैको लागी चिया मगायो र भन्यो, ल आज मेरो तर्फबाट है ।

सिम्रिकाले कविता लेख्न छोडेको कुराले साहिलमा कुनै वैराग्य वा निरासा देखिएन । सिम्रिकाको जोडिएको घरबार एकाएक भताभुङ्ग भएको कुराले पनि साहिलमा कुनै समवेदना वा सहानुभती देखिएन । सिम्रिका महान कवि भएको देख्न चाहने साहिल आज फेरी उसलाई प्रोत्साहन गरेर त्यो अवस्थामा पु¥याउन सक्ने हालतमा थियो । तर यी सब काम गर्न उत्साहित थिएन । उत्साहित थियो त केवल सिम्रिकाको भताभुङ्ग भएको घरबारको दुखद अन्त्यको खबरले ।

कविता सिम्रिकाको नसानसामा थियो । उसले चाहँदैमा त्यो सरफले धोएको कपडाझैं पखालिनेवाला थिएन । केहि महिनाको अन्तरातलपछि फेरी सिम्रिकाले कविता पठाउन थाली । यसपटक भने उसले आफ्नो साहित्यिक नाम हटाएकी थिई । अब ऊ सिम्पल रहिन । केवल सिम्रिका ओझा भई । उसका कविताहरुमा पुरानो निराशासँगै नयाँ जीवन सुरुवात गर्ने आशाका संकेतहरु प्रस्ट थिए । जतिसुकै नाइँनास्ती गरे पनि कवितामा पोखिने भावहरु जीवनका यथार्थ वा काल्पनिक भोगाई हुन् भन्ने कुरा साहिलले बुझेकै थियो । साहिलको मनभित्र उत्साह र उमङ्गको बाढी आएझँै भइरहेको थियो । सिम्रिकाका हरेक कविताहरु उसले रेडियोमा एकपटक पढेपनि घरमा गएर पटक पटक पढ्थ्यो । कवितामा साहिल प्रतिको प्रेम व्यक्त भएको कुरा उसका सहकर्मीले समेत बुझ्न थालेका थिए ।

अब साहिल यो प्रेमलाई उत्कर्षमा पुर्याउन चाहन्थ्यो, तर कुन रुपमा ? ऊ आफैंलाई थाहा थिएन । एउटा ड्रगिस्ट केटासँग महिनौं बिताएकी लामो नाक भएकी केटीमा कुनै रोग पनि त हुनसक्छ । यो भन्ने कुरालाई पुरै बेवास्ता गरेको स्थितीमा थियो ।

एकदिन रेडियोमा कसैले फोन गर्यो । साहिल सर हुनुहुन्छ ? साहिल फोन नजिकै भएकोले फोन उठाइहाल्यो । सर, म सिम्रिकाकी बहिनी, सजिना । हिजो राती तपाईंको कविताको प्रोगाममा श्याम मानन्धरको नाममा बजेको कविता थियो नि, त्यो मेरो हो । त्यसले फेसबुकबाट चोरेछ । साहिल अचम्ममा प¥यो अनि सोध्यो, अरे तिमी पनि कविता लेख्छ्यौ ? अबि, सर त्यो दिदीको नाममा आउने कविता मंैले लेख्या त हो नि । दिदीलाई कहाँ लेख्न आउँछ र । रहर मात्रै हो, बिचरीको । तपाईंको स्वर मन परेर तपाईंसंग नजिक हुन मलाई कविता लेख्न लाएकी । हि हि हि हि । सजिना इनोसेन्स हाँसो हाँस्छे ।

साहिल अचम्ममा प¥यो । सोध्यो, अनि तिम्री दिदी खोइ कहाँ जानुभो ? कहाँ जान्थी यतै होली । पख्नु है, म फोन दिन्छु । त्यति भनेर फोन दिन लाग्दा एकाएक फोन काटियो ।
साहिलले कल ब्याक गर्न आवश्यक पनि ठानेन । फेरी महिनौंसम्म साहिल र सिम्रिकाको भेट भएन । घर नजिकैकी बहिनीलाई सोध्दा थाहा भयो, सिम्रिका तीन महिनादेखि बेपत्ता छ रे । ऊ छाँगाबाट खसेझैं भयो । सिम्रिका कहाँ गई ? किन गई ? बाँचेकी छे या मरिसकी ? कसैलाई पत्तो छैन । प्रोगाम चलाउने बेला हिजो आज पनि साहिल लामो नाक भएकी केटीको पूरानो नक्कली कविता वाचन गरिरहन्छ, पटक पटक । ऊ आज पनि सिम्रिकाको नक्कली कविता कुरेर बसेको छ । र, सायद अझै लामो समयसम्म कुरिरहने छ ।

-किरण वराल

baralkiran@gmail.com
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger