रिच बट अनरिचेबल कर्णाली - टिका रेग्मी [ Video सहित ]

0 comments

"म उनिहरुलाई मान्छे भन्छु, उनिहरु मलाई मान्ठा भन्छन् । मेरो नास्ता पाक्दै छ सिमी र चाउचाउ । कर्णाली माथी एकथान झोलुङ्गे पुल बेसरम उत्तानो परिरहेछ । जो मुगुबाट सपनाको थैली भरेका मान्ठालाई बाजुरा तार्छ, अनि पुग्छन् कोल्टी विमानस्थल चिलगाडी भेट्टाउन । ठिक विपरीत दिशाबाट खच्चर, तिनका गोठाला, नुन बोकेर, छोराछोरीको अनुहार हेरेर फर्केका मान्ठा र मजस्ता केही अफकिरहरुलाई पनि तार्छ ।"

“हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम ।“ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो । मैले क्यामेरा झिके र उसलाई कैद गरे, उसको ओठ छलेर निस्केका दाँत, नाकको भेडो, उसको कमिजको टाटो, जाँगेको तुना, मुत्नेभन्दा अलिक तल उध्रेको सबथोक कैद भयो ।

म मुगु कर्णाली नदिको बाया किनारमा आइपुगेर रोकिएको छु । भर्खरै मैले आफू र आफू आउनुको उद्देश्य बताए एकजना वृद्धलाई, जो भर्खर निस्के पसलबाट । जाने बेला भनेथे “तुमारु कोहि..ई केही गरन्या नाई. स......ब आउन्या हुन्... जागिर खान्या हुन्.. जान्या हुन्...तमि सहर बाईजान्या हौ,अनि उतै निको मान्ना खौ.. तमारु जस्तालाई हम्मा कर्णालीमा भोकै राख्न पर्न्या हो, अनि बुझ्दख्यौ हाम्मो पिर ।“

नदी किनारमा अलिकति मान्छे छन् । म उनिहरुलाई मान्छे भन्छु, उनिहरु मलाई मान्ठा भन्छन् । मेरो नास्ता पाक्दै छ सिमी र चाउचाउ । कर्णाली माथी एकथान झोलुङ्गे पुल बेसरम उत्तानो परिरहेछ । जो मुगुबाट सपनाको थैली भरेका मान्ठालाई बाजुरा तार्छ, अनि पुग्छन् कोल्टी विमानस्थल चिलगाडी भेट्टाउन । ठिक विपरीत दिशाबाट खच्चर, तिनका गोठाला, नुन बोकेर, छोराछोरीको अनुहार हेरेर फर्केका मान्ठा र मजस्ता केही अफकिरहरुलाई पनि तार्छ ।

म दोस्रोपटक कर्णाली यात्रामा निस्केको छु । अघिल्लो पटक आकाश उत्तेजित भएपछी गर्दागर्दैको आधा काम छोडेर फर्केको थिएँ । हिजोदेखी नेपालगन्ज एयरपोर्ट भन्सारको कर्मचारी भन्दा बढी व्यस्त छ । हिजोसम्म लगातार आकाश स्खलित भयो । हिउँसम्पर्कबाट तृप्त भएर बसेका छन् किशोर जौका बोट, सल्लाका हागा, रागेभिरको चट्टान र अलिपर किशोरीका स्तनजस्ता पहाडको चुचुरो, सबथोक । त्यतिन्जेल चिलगाडिहरु नेपालगन्जको राझा बिमानस्थल बहिरको धर्मेन्दर चाट पसलमा छोला समोसा खाएर बसे, निर्बाध खस्न दिए हिउका दाना आकाश नथाकुन्जेल ।

हिजोदेखी चिलगाडिहरु पहाड उक्लिन थालेका छन् । हिजै मैले बाजुराको कोल्टीसम्मको उडान निश्चित गरेर जाचपास गरेर भित्र पसे । भित्रको कुर्सीमा म ब्युझदा जहाजले भुई छाडेको भर्खर पन्ध्र मिनेट भएछ। मलाई छोडी मेरो लगेज कोल्टी उड्यो । मेरो झोला भाग्यमानी ठहरियो। कोल्टिको दोस्रो उडानमा कोल्टी उत्रेपछी हिजो र आज गरि करिब छ घण्टाको यात्रामा म यहाँ आएर रोकिएको छु । अब म निदाए भने पनि फरक पर्दैन यहाँ न चिलगाडी छुट्छ न बस । अब मैले छ घण्टा हिड्नु छ, त्यसको बिकल्प दौडनु हो । म चाहन्छु कम्तिमा यसरी मान्छे दौडनुको सट्टामा मोटर दौडियोस । त्यसैले त हिडेको छु मुगुको सेरि र रारा गाविसमा बाटो पुर्याउने लक्ष बोकेर ।
***

''टिकट जाँच गर्नेले हेरेपछी एकपटक टिकट हेरेर सोचें मेरो ठेगाना त भयो अनि देशको ठेगाना ?? के मैले हजुरबुवाको अनुहारमा देखेको देशको आकृती पर्दामा देखिने बानेश्वरको चुच्चेघरमा मात्र सिमीत छ? म मैले सुनेको देश खोज्न हिडेको हुँ, यो रात्रीबसमा ।''

नाम भयो अनि थर?“
“रेग्मी“
“ठेगाना ?“
“जिल्ला स्याङ्जा, देश नेपाल“
मेरो पोखरादेखि नेपालगन्जको टिकट तयार भयो । बस गुड्यो । मलाई बसमा नेचर भिउ सिट चाहिन्छ, रात्री बस हो त्यसैले मुन भिउ सिट । सिट पार्टनरको जेन्डर मलाई तान्ने खालको नै हो तर भित्रको चन्द्रमा भन्दा बाहिरको चन्द्रमा सुन्दर छ । टिकट जाँच गर्नेले हेरेपछी एकपटक टिकट हेरेर सोचें मेरो ठेगाना त भयो अनि देशको ठेगाना ?? के मैले हजुरबुवाको अनुहारमा देखेको देशको आकृती पर्दामा देखिने बानेश्वरको चुच्चेघरमा मात्र सिमीत छ? म मैले सुनेको देश खोज्न हिडेको हुँ, यो रात्रीबसमा । चिसो वर्णन गर्न सकिने भन्दा अलिक बढी छ । बसको र मेरो गन्तव्य राझा एअरपोर्टबाट छुट्टियो । बिहान सात बजेर मिनेट सुई दुईमा पुग्दा एअरपोर्ट गेट पुगे । सुचना अनुसारका व्यक्तिलाई भेटिहाले, लाग्यो आजै रारा पुगिने भो । खुशीले भुइँ छोड्यो, त्यो भन्दा अलिक अगाडि ताराको चिलगाडिले । अघि उडेको विमान आजको पहिलो र अन्तिम उडान रहेछ मुगुको ताल्चा विमानस्थलको लागि । उसै पनि टिकटको संघर्ष नबिर्सिने खालको हुन्छ । धैर्यतासग हारेर हिजै हिडेको थिए रात्रीबसमा । गेटमा पुग्नु र जहाज उड्नु, कस्तो चलचित्रजस्तो । सम्झे समयले मलाई नायक बनाईदिया,े धन्य समय ।

शिशिर ऋतु । चिसोको दबदबा । कस्तो लाज नलाग्ने यी पहाडरुलार्इ ?नाङ्गै । निर्लज्ज । चिलगाडिले हेर्न सकेन र दौडियो । जहाजबाट ओर्लेपछि जमात दुई कित्तामा बाडियो । एक कित्ता रारा लगायत माथिल्लो भेग हानियो । म सहित केही तल गहिराईमा देखिने सदरमुकाम गमगढीतिर । लौ नेपालगन्जको गर्मी त चिलगाडिमै छुटेछ । मैले मुगुको सुन्दरता कैद गर्न क्यामेरा झिकिन, लाग्यो आँखा काफी छन् । सुन्दरता पनि कस्तो सुन्दरता भन्नुहोला भने आकर्षक बाझी महिलाजस्तो। हेर्दा मन नपर्ने के छ र यहाँ ? नजिकै टल्केको हिउँपहाड । भर्खरै कोरिदै गरेको कर्णा्लिको भाग्य रेखा मानिने सडक । त्यसमा जमेको बग्दाबग्दैको पानी । यहाँ लाग्छ खोलाहरु पनि प्रेममा छन् ,खै कसलाई सम्झेर बग्दाबग्दै रोकिईजान्छन । “तर यहाँका मान्छेहरु, यो बाटोको धुलो, चट्टानको सुन्दरता र केही हामिजस्ता फरक भुगोलका मान्छेको कठै ! भाँडामा पस्केर नबाच्ने निश्चित छ ।” यस्तै कुरा मस्तिष्कमा चलिरहे ।
***
पानि जमेर बनेको ठाडोमा चिप्लेटी खेल्दै केटाकेटी
गमगढी आईपुगेको तेस्रो दिन हामी हाम्रो गन्तव्यतिर हानियौ । काम वहाना हो । म यहाँको भुगोल कम, मान्छेको जिन्दगी बढी नाप्न आएको हु । हामी तीन जना छौं । एकजना पछि आईपुग्ने छन् । प्रेम शाही मुगेली हुन । हाम्रा टिममा । उनी बाटोमा भेटिएका आधाभन्दा बढी मान्छे चिन्छन र लगभग सबैसग बोलीभ्याउछ्न । अक्सर जवाफहरु यस्तै हुन्छन “गुमा(गमगढी) जान्या हौ, ठाँडो बेख्खरी छ, राम्मोसग गए ।“

सुन्नु भनेको हेर्नू हो तर अर्कैको आखाबाट । तर्क गर्न मिल्छ फोटा,े भिडियो त आफ्नै आखाले हेर्न मिल्छ, त्यो पनि अरु कसैको विशेष रुचिको हेराई हो । जस्तो कि फुटबल खेलको प्रत्यक्ष प्रसारण हेरिरहदा जबर्जस्त अरु कसैको चाहनामा मिड फिल्डर या फर्वाडको खुट्टाको भकुण्डो हेर्नुपर्छ, ठिक त्यही समय पोस्टमा भय र आश मिसिएको गोलकिपरको अनुहारजस्तो सुन्दर के हुन्छ? तर हाम्रो रहरले हामिले हेर्न पाउदैनौ । हाम्रो शब्दकोशमा कर्णाली शब्दको अर्थ अभाव, अज्ञानता,भोक र विकटता लेखिएको छ । किन परिमार्जन हुदैन समयानुकुल ?हामिले सुनेजस्तो मुगु विकासका केही पनि सुचक नभएको बुचो भने होईन रहेछ । हामी उकालो लागिरहदा गमगढी बजारको माथी उकालोमा हामी, हामिभन्दा माथि एउटा सडक सुतिरहेको थियो, भर्खर भर्खर कुमारित्व गुमाएजस्तो सडक र सडकमाथी टयाक्टर ।

सुन्दरता भुगोलमा मात्र हुदैन । त्यो भुगोल बाचिरहेका र भुगोलले बाचेका मान्छेमा अझ बढी हुन्छ ।त्यो सबै रोमान्चकताको आँखिझ्यालमा बसेर दृश्यको कुन भागमा दुर्बिन घुमाइन्छ भन्नेमा पनि भर पर्छ । कर्णाली नाकमा ठूलो बुलाकी लाँउछ । घाटिमा सल्लाका पातहरुले कोपेर सपनाको धागोमा बुनिएको माला । बेलुका बास बसेको घरकी दिदी भन्थिन “हामिकन राता चामल पकायाछौ, सरकन सेता पकाउला।“ मैले पछि थाहा पाएँ, मुगुका पाखामा रातो चामल फल्छ, मानौँ हिजो क्रान्तिको नाममा गरिएको कथित जनयुद्धमा मुगेलिहरुको रगतले सिन्चित भएर धान गर्वमै रातो भयो । चिलगाडिले बोकेर ल्याएको, लाईन बसेर, घण्टौ उकालो चढेर,छिमेकीभन्दा दुई पाईला छिटो सदरमुकाम ओर्लेर ल्याएको, पाँच किलो किन्न पाएको चामल चाहिँ सेता े। मैले यहाँ आएर बुझे चामलको लाईनमा सकिएको आधा जिन्दगी । थक्क भयो । दुईतिन छाक अलिअली मुखमा घोचेजस्तो भए पनि हामिले यहिको पाखामा फलेको चामल रोज्यौ। हिजो रातो द्वन्द फलेको पाखामा मुगेलिहरु रातो चामल फलाउदा रहेछन । अलिक विकसित भईटोपलेको देशका अन्य भुभागमा भनिने होमस्टे यहाँ पनि छ । उताको होमस्टे रहरले पुगिन्छ, यहाँ बटुवाको सुबिधाको लागी । बस्, यत्ति हो मुगेलिहरुले त्यसलाई आधुनिक नाम दिन जानेका छैनन् । यो भन्दा उकालो लागेपछी सबै ठाउँमा दरभाउ, मेनु, लग्जरी एकनास छ ।
सुतेको निशुल्क ।
एक सयमा रातो चामलको भात ।
सिमिको दाल ।
आलुको तरकारी ।
आगो फुकिरहेको चुलो ।
घेरेर बसेका मान्छे ।
अलिकती जाडो छल्ने गफ ।
भेडिगोठमा नअटाएको छाउहरुको जवानी ।
खाजामा सिमि र चाउचाउ ।
कोरिया जाने फारम भर्न बसेका युवाको ताति बिस्तारै सल्लाका रुखहरु भएका छन् । रुखहरुको बिचमा भर्खर रातले शितका थोपाहरु जमाएर मोति बनाईदिएको छ । खोला ब्युझिसकेको छैन । थुप्रै दिनदेखी ऊ नशामा छ, जमेर बसेको छ । करिब एक डेढ महिनामा गर्मी आउनेछ उसको ह्याङगओभर उतार्न । बाटो ओरालो झर्यो । घामले शर्टको कलर मिलायो, आखाको कचेरा फाल्यो र एकपटक आफ्नो अनुहार हेर्यो राराको पानीमा । छेउमा बसेर केही घोडाहरु गाईरहेछन “उध्रेको तिम्रो चोली..“ । उधार्ने को रहेछ खै ? कतै यहि पानीका हाँसहरु त हैनन ?उनिहरुको नाम त्यसै हाँस कहाँ भएको होला? कम्ति खुसी छैनन उनिहरु । यसरी निर्बाध खेलिरहेछन राराको चुलबुल जवानी । सायद जुनियर बच्चनहरु ऐइश्वेराहरुलाई लिएर यहाँ आउदैनन । नत्र कसरी भन्न सक्छन् विश्वसुन्दरिहरुलाई तिमी राम्री छैनौ??
***

"एक निन्द्रा निदाएर ब्युझदा ओछ्यान अलिक खुल्ला लाग्यो । छामछुम पारे । सगै सुतेको मान्छे त गायब । ’सर्ट’ गर्न गएका होलान् भन्ने अन्दाजमा सुते । भोलिपल्ट गाउमा हल्ला सुनियो “रातभर गोठमा ओभरसेठ्ले छोटी खेलेछन ।"

विश्व खाध्य संघले मान्छे हिड्न पुग्ने गरि करिब दुई फिट चौडा बाटो बनाईदिएको छ । तर बाटो, पानी जमेर बनेको ठाँडोहरुसग चरम सुखमा छ । हामी बिथोल्न चाहन्नौ। राराको पानी ओरालो झरेको दिशामा चाहिँ खोला रफ्तारमा छ, खोलाको तिरैतिर हामी पनि । शेरी बजार आईपुग्यो । दुईतिन तलासम्मका काठका घर । अल इन ओन स्टोर्स । टुबोर्ग बियरदेखि गोल्ड्स्टार जुतासम्म, खच्चरले पाच सात घण्टा बोकेर ल्याएका । मेडिकल पसल । टेलर । करिब चार पाँच ओटा पसलले पुरै बजारको जिम्मा लिएका छन् । एउटा बोर्डिङ स्कुल । एउटा सरकारी विद्यालय । माईक्रोहाईड्रोपावर । घरघरमा सोलार । कर्णाली गरिब कसरी भयो? कर्णाली अशिक्षित कसरी भयो? बास बसेको घर हरिकृष्ण साहुजिको हो । उनको पसल बाहिर सरकारको कर्णाली रोजगार कार्यक्रमको सुचना टालिएको छ । घरको एकजनाले करिब तीन महिना स्वोरोजगार हुने गरि सरकारले चलाएको कार्यक्रम ।

हरिकृष्ण साहुजिको घरको भुईतलाबाट भर्खर ट्युसन सकेर केही मदिराका प्यालाजस्ता जवानिले भरिएका किशोरी निस्के । नयाँ मान्छेतिर एक दुई नजर फाले, हामिले अलिकती पियौ र झनै प्यासी बन्यौ । अन्तिममा निस्कने एउटाले ढोकानेर अर्किको छाती अठ्यायो, मैले नदेखेजस्तो गरे । केटिले अनुहारमा अबिर पोखी । एउटाले पछाडिबाट बोल्यो “साले छोटिकन छड्के मार्दो ख ।” केटि र किशोरीहरुलाई उनिहरु छोटी भन्छन् ।जम्फै गाउँमा बासको र खानाको ठेगान भो करिब तीन दिनको लागि । कुनै काठका, कुनै ढुङ्गा मात्रको सुख्खा गाह्रोमा माटो छापेका घर । काठमा खोपेर पाईला अट्ने बनाईएको भरयाङ् । सरदर दुई तलाका घर, प्रत्येक तला करिब तीन फिटका, चिसो नछिरोस भनेर होचा बनाईएका । भुइँतला वस्तुभाउको नाममा, अलिकती छाउ भएका स्त्रीको लागी। साझ बसाईको घर नजिकै किशोरीहरु झुम्मिए तमाखु तान्न, उनिहरुको खुलापन लोभलाग्दो छ, जुन म ठमेल या लेकसाईडमा मात्र निर्वाध देख्न पाउथे ।सबैभन्दा खतरनाक त यहाँका तीन फिट अग्ला घरहरुमा उकुसमुकुस अटाएका सम्बन्धहरु रहेछन । हामी बसेको घरको भान्सामा एउटा सानो खाट थियो । त्यसमा म सुते । मसगै मेरो ओभरसियर पनि । जग्गाको नापो अनुसार बनाएको घरजस्तो टिमिक्क, अलिकति चल्मलायो भने अर्काको जग्गा अतिक्रमणको आरोप लाग्ने । तल अगेनाको छेउमा पल्टेका छन अघि मातेर आएका स्कुलका हेड्मास्टर, साहुनी र उनका तीन केटाकेटी । साहुनिका लोग्ने बम्बै छन् । राती साहुनीको असमर्थन र हेडमास्टरको दाबिले यो प्रमाणित गर्थ्यो कि यो घरमा हामी बास बस्नु उनिहरुका लागि अभिसाप भयो । एक निन्द्रा निदाएर ब्युझदा ओछ्यान अलिक खुल्ला लाग्यो । छामछुम पारे । सगै सुतेको मान्छे त गायब । ’सर्ट’ गर्न गएका होलान् भन्ने अन्दाजमा सुते । भोलिपल्ट गाउमा हल्ला सुनियो “रातभर गोठमा ओभरसेठ्ले छोटी खेलेछन । जम्फई बसाईको तेस्रो साझ एउटा घरमा भाले पाक्दै थियो । सबैलाई आ आफ्नो फ्लेभरको तयारी पनि । सायद घरकि साहुनीको फ्लेभर मिलेन । उनि अलिक जवान थिईन । एउटि सानी नानी पनि। लोग्ने मुम्बई ।शहरतिर होटेलवाला साहुजिले पुलिस आउने डर देखाएर अत्याउथे यहाँ पुलिस आउने कुरा भएन। सहुनिलाई मान्ने हो भने निन्द्रा आउने वाला थियो हामिलाई धपाउन र त अत्याईरहिन ।खानपिन सकेर संयोगले उनकै गोठमा देउडा चल्यो । पछि तल देउडा गाउदै गर्दा माथि हामीसगै खानपिनमा सामेल हुने एकजना र साहुनिको आवाज मलिन सुनियो, नसुनिएको भए हुन्थ्यो भन्ने सैलिमा ।मैले सुनेको भन्दा फरक भोगे कर्णालीलाई । कहिले रारा पुग्दा इन्द्रजिले स्वर्ग जाँदै गर्दा चिलगाडिको झ्यालबाट एक्टुक्रा स्वर्ग फ्याकिदिएजस्तो । कहिले रत्नपार्कको मोलमोलाइ र ठमेलजस्तो गरमागरम ।
***

दोस्रोपटकको मुगु बसाईका बहुमत दिन हिउँमाथी जङ्गलमा र अधिकांश रात खर्कमा बिते । दिउँसो दुई बजेपछी चिलगाडिको आवाज हराउने गरि सल्लघारी चिच्याउँथ्यो । राती खर्कमा पन्ध्र सोर देखि सत्चालिस सम्मका पुरुष बिसौको सख्यामा चुलो घेरेर बस्थे । अनि सुरु हुन्थ्यो देउडा...

स्याङ्जाबाट सर आयाछन
कर्णाली भेरी खोला
सर्भे गर्न भनी कठै
फेरि भेट होला नहोला

भविस्य बन्दो छ भने
कर्णाली भेरी खोला
ज्यानको माया लाग्न्याछैन
फेरि भेट होला नहोला


रात ढलिरहँदा उनिहरुको जिब्रोबाट मदिरा कम भविस्यप्रतिको आश र विकासको भोक ज्यादा पोखियो । गर्भवती श्रीमती छाडेर आएका, म भन्दा थोरै कान्छा, एस एल सि तयारी गरिरहेका बिष्णुप्रसाद देखि आठ वर्षको छोराले एक क्वाटर खान्छ भनेर गर्व गर्ने थापाजीसम्म । रातो क्रान्तिको नेतृत्व गरेर थाकेर, सेतो हिउँ माथी गाडी गुडाउन लागिपरेका, बा उमेरका, कम्रेड हिमालसम्म समर्पित भए ।बसाई फेरियो । पात्र फेरिए । तरकारीहरु फेरिन थाले भेडा,कालिज, डाँफे । मान्छे मरेको त पत्तो नहुने ठाँउमा रास्ट्रीय पंक्षी मरेको के पत्तो पाओस् प्रशासन ???
***
कामको दौरान धेरै पात्रहरु जोडिए । राज बहादुर मेरो उमेरका पात्र हुन । व्यबस्थापनमा प्रमाणपत्र तह उत्तीर्ण । शेरी हुलाकको जागिरे । एउटा घर हामी अहिले बसेको खर्क नजिकै। भेडा चराउने मौसमको प्रयोजनको लागि । एउटा तल सेरि बजार नजिकै, यहाँ देखि तीन घण्टाको पैदल दुरिमा । एउटा नेपालगन्जमा । दुई छोराछोरी, एक श्रीमती र सयौ भेडाको मालिक । उनी एकल पात्र होईनन । यहाँका अधिकाश मानिसका कम्तिमा दुई घर छन् । प्रत्येक घरको न्युनतम मुल्य दस लाख । सक्नेको नेपालगन्जमा पनि । नेपालगन्ज सपनाको शहर हा,े कर्णालीवासिको । प्रत्येक परिवारसग करिब सयको हाराहारी भेडाबाख्रा(कम्तिमा रु दस लाख बराबर )छन् । कर्णाली कसरी गरिब भयो?? के मा गरिब भयो त ? बिहान नौ बजे स्कुल जानेको लहर देखिन्छ, साँझमा बत्ती बल्छ । हरेकसग लाखौको सम्पती छ । यौनमा सहर भन्दा खुलेको छ । स्याउ र ओखर त म रुखमात्र देख्न सक्छु । यो सिजन हैन त्यसैले त्यसको मूल्य मैले खोजिन । उनिहरु ओखर पेलेर तेल बनाउछन । यहाँ अभाव त केबल पहुँचताको हा े। रिच शब्द को अङ्रेजिमा दुईटा अर्थ छन् एउटा धनी अर्को पुग्नु । हो कर्णाली पहिलो अर्थलाई न्याय गरेर पनि दोस्रो अर्थले पिल्सिएको मेरो देश भित्रको देश रहेछ । कर्णाली बुचो छैन नाकमा बुलाकी लगाउँछ गज्जबको । उसग बुलाकी फेर्ने रहर छ । पँुजि पनि छ । अब उ चाहन्छ, कम्तिमा त्यो पैसाले जम्फई र सेरिमै मोटरगाडिले झम्के बुलाकी बोकेर ल्याओस । फर्कँदा ओखर र स्याऊ बोकेर जाओस् । अट्तिस बर्षको औसत आयु बढाएर पसिनासँग बिनिमय गरियोस् ।

"फर्किने बेला एयरपोर्ट बाहिर मेरो उडानको चाजोपाजो मिलाउनेले सोधे कस्तो रह्यो बसाई? मैले भने “रिच (धनी) बट अनरिचेबल(पहुँचता नभएको) कर्णाली ।”

तस्विरहरु - टिका रेग्मी
(टिका रेग्मीको ब्लगबाट साभार !)

Video of the article[edited]

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger